काठमाडौं । मेट्रोवेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभा काठमाडौंमा भव्य रूपमा सम्पन्न गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेटमाथि विस्तृत छलफल गर्दै सर्वसम्मत रूपमा पारित गरेको हो।
अध्यक्षद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत
साधारणसभामा सञ्चालक समितिका अध्यक्ष राजु महर्जनले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले स्थापना कालदेखि नै “व्यक्ति समूहका लागि, समूह व्यक्तिका लागि” भन्ने सहकारीको मूल भावना आत्मसात् गर्दै निरन्तर अघि बढिरहेको बताए। उनले देशको समग्र आर्थिक अवस्था चुनौतीपूर्ण रहँदा, वित्तीय क्षेत्रमा बढेको दबाब र बजारमा देखिएको मन्दीका बाबजुद पनि संस्थाले आफ्ना लक्ष्य तथा उद्देश्यअनुसार उल्लेखनीय प्रगति गर्न सफल भएको उल्लेख गरे।
अध्यक्ष महर्जनका अनुसार सदस्यको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका कार्यक्रम, विवेकपूर्ण कर्जा लगानी र जोखिम व्यवस्थापनका कारण संस्थाको वित्तीय अवस्था क्रमशः सुदृढ बन्दै गएको छ।
संस्थाले सदस्य केन्द्रित सेवा प्रवाह, पारदर्शी वित्तीय कारोबार र सहकारी ऐन, नियम तथा निर्देशनको पूर्ण पालना गर्दै आफ्नो गतिविधि सञ्चालन गरिरहेको जानकारी सभामा प्रस्तुत गरिएको थियो।
संस्थाले हाल ११ प्रकारका बचत खाता सञ्चालन गर्दै आएको छ, जसमा साधारण बचत, महिला बचत, ज्येष्ठ नागरिक बचत, विद्यार्थी बचत, मेट्रोवेष्ट सुपर बचत, आवधिक बचत तथा कर्मचारी कोष खाता लगायतका योजना रहेका छन्।
कर्जा प्रवाहतर्फ संस्थाले तरलता व्यवस्थापनमा कुनै असर नपर्ने गरी उत्पादनशील तथा आयआर्जनमूलक क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्दै आएको जनाएको छ। यसले सदस्यको आर्थिक सशक्तीकरणसँगै संस्थाको दीगो विकासमा टेवा पुर्याएको प्रतिवेदनमा उल्लेख छ।

जोखिम व्यवस्थापन र वित्तीय सन्तुलन
सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको जगेडा कोष, अन्य कोष तथा ऋण जोखिम व्यवस्थापन सन्तोषजनक अवस्थामा रहेका छन्। बचत संकलन र कर्जा प्रवाहबीच सन्तुलन कायम राख्दै सञ्चालन गरिएकाले संस्थाको वित्तीय अवस्था थप सबल बन्दै गएको बताइएको छ।
प्रस्तावहरू सर्वसम्मत रूपमा पारित
साधारणसभाले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, आ.व. २०८२/०८३ को अनुमानित वार्षिक बजेट तथा कार्यक्रम लगायतका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
अध्यक्षको प्रतिबद्धता
कार्यक्रमको अन्त्यमा अध्यक्ष राजु महर्जनले मेट्रोवेष्ट बचत तथा ऋण सहकारी संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सदस्यमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाको प्रगति र सफलताका लागि निरन्तर सहयोग पुर्याउने शेयर सदस्य, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे।





