जेनजी आन्दोलनको डकुमेन्ट्री देखाउँदै एमालेले भन्यो: बिर्सेका छैनौं हातमा आगो बोक्नेहरु



भक्तपुरको सल्लाघारीमा सुरु भएको नेकपा (एमाले) को ११औँ महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत झन्डोत्तलन गरेपछि विशेष भिडियो प्रदर्शन गरिएको छ।

भिडियोमा जेन–जी आन्दोलनका क्रममा आगजनी र क्षतिग्रस्त भएका सरकारी संरचनाहरू देखाइएका छन्। ती दृश्यहरूमार्फत उक्त दिनलाई एमालेले कहिल्यै नबिर्सने सन्देश दिइएको छ। भिडियोमा ‘कामरेडहरू, एकछिन आँखा चिम्लनुहोस्, जलेको हाम्रो न्यायको मन्दिर सम्झनुहोस्, बलेको संसद् भवन सम्झनुहोस्, खरानी बनाइएको सिंहदरबार सम्झनुहोस्’ भन्ने भावनात्मक सन्देश समेटिएको छ।

त्यसैगरी, प्रदर्शनका क्रममा जलेका अन्य संरचनाका दृश्यहरू पनि प्रस्तुत गर्दै ‘हातमा आगो बोक्नेहरू, प्रहरीका बन्दुक खोस्नेहरू र भागेका कैदीहरूलाई नबिर्सिने’ उल्लेख गरिएको छ।

भिडियोमा देशका लागि जाग्न आह्वान गर्दै ढलेको आस्था पुनःउठाउन, संसद् पुनर्स्थापनाका लागि संघर्ष गर्न तथा च्यातिएको संविधानको मर्मत आवश्यक रहेको सन्देश दिइएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते शनिवार