कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बैठक बस्दै



काठमाडौं। नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज (बुधबार) बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। कांग्रेसले २६–२८ पुसमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो।

समिति सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ का अनुसार बैठकबाट क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरू गरिनेछ।

उनका अनुसार, केन्द्रीय कार्यसमितिले सदस्यता नवीकरणमा अपनाएको सहजता र उदारताको नीति संगठनका तल्लो तहसम्म प्रभावकारी ढंगले लागू गर्नेबारे पनि बैठकमा छलफल हुनेछ।

रसाइलीले समितिले हालसम्म सदस्यता सम्बन्धी भएका गतिविधि लिपिबद्ध गरी त्यसको प्राविधिक व्यवस्था सहज बनाउने तयारी रहेको बताए।

कांग्रेसले महाधिवेशनलाई सदस्यता विवादविहीन बनाउन महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ गठन गरेको हो। समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन्।

महामन्त्री थापाले १८ कात्तिकमा केन्द्रीय समितिमा पेश गरेको प्रतिवेदनअनुसार, झण्डै नौ लाख क्रियाशील सदस्यमध्ये मात्र करिब तीन लाखले नवीकरण गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार