काठमाडौं । नेपालको नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्ने प्रयासलाई अझ मजबुत बनाउँदै तेस्रो iCafe – Gateway to Innovation नयाँ बानेश्वरस्थित टेकस्पायर कलेज (ब्लक C) मा शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। आइडिया स्टुडियो नेपालद्वारा सञ्चालित यो मोडेल युवा पुस्तामा सिर्जनशीलता, प्रविधि–मैत्री सोच र उद्यमशील संस्कृतिको विकास गर्न लक्षित छ।
बिहान ११:०० बजे सम्पन्न उद्घाटन समारोहमा विद्यार्थी, संकाय सदस्य, युवा उद्यमी तथा स्टार्टअप समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नयाँ iCafe स्थानलाई प्रविधि, विचार–विमर्श र सिर्जनशक्तिलाई एकै ठाउँमा जोड्ने गतिशील केन्द्रको रूपमा डिजाइन गरिएको छ, जसले “टेक र स्वादको संगममार्फत विचार उम्लिन सक्ने” वातावरण प्रदान गर्छ।
आइडिया स्टुडियो नेपालका प्रतिनिधिहरूले iCafe मोडेलले शैक्षिक संस्थानहरूमा नवप्रवर्तनमैत्री संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै भने, “iCafe केवल क्याफे होइन, युवा नवप्रवर्तकका लागि सहकार्य, सिकाइ र समाधान निर्माण गर्ने प्रवेशद्वार हो।”
टेकस्पायर कलेजमा तेस्रो iCafe स्थापनासँगै उक्त पहलले युवा–केन्द्रित उद्यमशीलतालाई अझ प्रोत्साहित गर्ने र नेपाललाई नवप्रवर्तन–उन्मुख समाजतर्फ उन्मुख गर्न थप सहयोग गर्ने अपेक्षा गरिएको छ।
उद्घाटनसँगै टेकस्पायर कलेजको iCafe आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएकाले विद्यार्थीहरूलाई सहभागिता, प्रेरणा र नवप्रवर्तनका विविध अवसरहरू उपलब्ध हुनेछन्।





