बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले एक होटलमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ



काठमाडौं । मधेस प्रदेशको राजनीति सोमबार नाटकीय रूपमा मोडिएको छ। मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहानै नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी छन्।

सिन्धुलीस्थित एक होटलमा सम्पन्न कार्यक्रममा भण्डारीले यादवलाई संविधानको धारा १६८ (३) बमोजिम शपथ खुवाएकी हुन्। यससँगै यादव प्रदेशसभाको ठूलो दलका हैसियतमा मधेस प्रदेशका नयाँ मुख्यमन्त्री बनेका छन्।

शपथपछि कुरा गर्दै यादवले भने, “मैले भर्खरै मुख्यमन्त्रीको पदमा शपथ लिएँ। जनकपुरमा स्थिति सहज थिएन, विरोध प्रदर्शन भइरहेका थिए। त्यसैले सिन्धुलीमा शपथको कार्यक्रम राखिएको हो।”

यसअघि विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको बताए पनि, बिच बाटोमै यादवलाई शपथ गराएको आरोप लगाएका छन्।

सोनलले सामाजिक सञ्जालमा लेखेका छन्, “मधेस प्रदेशका जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली–महोत्तरी सिमानाको होटलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन्।”

यस घटनापछि मधेस प्रदेशको राजनीतिक समीकरण पुनः अनिश्चित बनेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते सोमवार