बहुविवाहको मुद्दालाई लिएर गुन्डुमा ओली र भट्टराईबीच नोकझोक



काठमाडौं । नेकपा(एमाले) को शनिबार गुन्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईबीच तीव्र नोकझोक भएको छ।

बैठकमा भट्टराईले बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहरिएका पासाङ शेर्पालाई पार्टी सदस्यता र पदबाट निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर ओलीले “मुद्दा लाग्नु सामान्य कुरा हो” भन्दै प्रस्ताव अस्वीकार गरेका थिए।

ओलीको भनाइपछि भट्टराई रिसाउँदै भने, “अदालतबाट दोषी ठहर भएकालाई बचाउने कुरा झापा आन्दोलनको पवित्रतामाथि खेलबाड हो।”

स्रोतका अनुसार ओलीले दिवंगत नेता सुवास नेम्वाङको उदाहरण दिँदै पुनः बहुविवाहलाई सामान्य कुरा बताएका थिए। बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट, रघुवीर महासेठ र पद्मा अर्याललगायतले पनि भट्टराईको पक्षमा समर्थन जनाएका थिए।

तर ओली शेर्पालाई निलम्बन नगर्ने अडानमा टसमस भएनन्, र विषय थप छलफलका लागि स्थगित गरिएको बताइएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार