एमाले बैठकमा विद्या भण्डारीको सदस्यता नवीकरण गर्न दबाब



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने माग तीव्र रूपमा उठेको छ। औपचारिक एजेन्डामा नपरेको भए पनि नेताहरूको उल्लेख्य संख्याले खुल्ला रूपमा भण्डारीको पक्षमा धारणा राख्दै सदस्यता रोकिनु ‘पार्टीको लागि नोक्सानदायक कदम’ भएको टिप्पणी गरेका छन्।

बैठकको पहिलो दिन सरिता न्यौपाने, शर्मिला कार्की, सोम मिश्र, हरि राई र विद्यासुन्दर शाक्यलगायतका नेताहरूले भण्डारीको योगदान स्मरण गर्दै उनको सदस्यता नवीकरण तत्काल गर्नुपर्ने आवाज उठाएका थिए। दोस्रो दिन ममता गिरी, राम अवतार, नविना लामा, प्रभा बराल, युवराज बास्कोटालगायत डेढ दर्जनभन्दा बढी केन्द्रीय सदस्यले पनि सदस्यता पुनःस्थापना गर्न माग दोहोर्‍याए।

नेताहरूले विद्या भण्डारीलाई निषेध गरिनु एमालेको लोकतान्त्रिक छविमा धक्का पुगेको दाबी गर्दै उनका भूमिकालाई सम्मानजनक रूपमा सम्झनु पार्टी एकताको पक्षमा हुने तर्क गरेका छन्। “एमाले निर्माणमा ओलीजत्तिकै योगदान भण्डारीको पनि छ, उहाँलाई बाहिर राख्नु न्यायसंगत हुँदैन,” एक नेताले बैठकमा भने।

यससँगै केही नेताहरूले भीम रावललगायत छुट्टिएका नेताहरूलाई पनि पार्टीमा सम्मानसहित फर्काउन प्रस्ताव राखेका छन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई आजीवन अध्यक्ष घोषणा गर्नुपर्ने सुझावसमेत राखिएको स्रोतले जनाएको छ।

बैठकमा सदस्यता नवीकरण नगर्ने अघिल्लो निर्णयलाई ‘संवेदनशील त्रुटि’ भन्दै सच्याउनुपर्ने माग बलियोसँग उठिरहेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शुक्रवार