काठमाडौं । नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
आईसीसी टी–२० विश्वकप एसिया–इएफी छनोटअन्तर्गत बुधबार सम्पन्न सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा यूएईले सामोआलाई पराजित गरेपछि नेपाल र ओमानले आफ्नो अन्तिम खेल खेल्नुअघि नै विश्वकपको टिकट पक्का गरेका हुन् ।
यसअघि सुपर सिक्स चरणमा नेपाल र ओमानले लगातार दुई खेल जित्दै समान ६–६ अंक जोडिसकेका थिए । सुपर सिक्समा शीर्ष तीन टोली विश्वकपमा पुग्ने प्रावधान रहेकोले नेपाल र ओमानको स्थान सुरक्षित भएको हो ।
युएईले सामोआलाई हराएर ४ अंक जोड्दै पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धामा रह्यो । अब सामोआले नेपाल र ओमानसँग खेल्न बाँकी छ भने युएईले जापानसँग खेल्न बाँकी छ । तर अंक गणनाका हिसाबले अब नेपाल र ओमानबाहेक अर्को टोलीको ६ अंक पुग्ने सम्भावना छैन ।
यससँगै नेपालले १० वर्षपछि दोस्रोपटक टी–२० विश्वकपमा स्थान बनाउन सफल भएको छ । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप खेलेको थियो ।
त्यसपछि सन् २०२४ को टी–२० विश्वकपमा पनि नेपालले सहभागिता जनाए पनि समूह चरण पार गर्न सकेको थिएन । तर दक्षिण अफ्रिकासँगको खेलमा १ रनको रोमाञ्चक हार खेलेर नेपालले विश्व क्रिकेटमा आफ्नो प्रभावशाली प्रदर्शन देखाएको थियो ।
यसपटकको विश्वकप भारत र श्रीलंकामा हुने भएकाले नेपाली समर्थकहरूका लागि खेल प्रत्यक्ष हेर्ने अवसर समेत मिल्ने अपेक्षा गरिएको छ ।





