कार्यवाहक सभापति तोक्ने तयारीमा देउवा



जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिबीच नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको नेतृत्व कार्यवाहक सभापतिलाई हस्तान्तरण गर्ने तयारीमा रहेको बताइएको छ। लामो समय उपचारपछि सक्रिय राजनीतिमा फर्किएका देउवा मंगलबार बोलाइएको केन्द्रीय समिति बैठकमा आफैं उपस्थित हुने तयारीमा छन्।

पार्टीभित्र देउवा निकट नेताहरूका अनुसार उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन सक्ने संकेत दिएका छन्। खड्का हाल देउवाको अनुपस्थितिमा पार्टीका अधिकांश बैठक सञ्चालन गर्दै आएका छन्।

देउवाको कार्यकाल करिब दुई महिनामा समाप्त हुँदैछ। पार्टी विधानअनुसार विशेष परिस्थितिमा मात्र एक वर्ष थपिने व्यवस्था छ। तर देउवा आफैंले पनि अब नेतृत्व हस्तान्तरणतर्फ ध्यान दिनुपर्ने संकेत दिँदै आएका छन्।

कांग्रेसभित्र महाधिवेशन नियमित रुपमा गर्ने कि कार्यवाहक नेतृत्वमार्फत प्रक्रिया अघि बढाउने भन्ने बहस चर्किंदै गएको छ। केही नेताहरूले देउवाले नै विश्वासिलो व्यक्तिलाई कार्यवाहक तोकेर महाधिवेशनको मिति निर्धारण गर्नुपर्ने सुझाव दिएका छन्।

अब मंगलबार सुरु हुने केन्द्रीय समिति बैठकले कांग्रेसको भावी नेतृत्व र महाधिवेशनको रोड़म्यापबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार