युवामैत्री कांग्रेस निर्माणको मागमा नेविसंघको सानेपामा धर्ना



काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले युवामैत्री कांग्रेस निर्माणको माग उठाउँदै शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ।

धर्नामा सहभागी नेविसंघका सदस्यहरूले ‘४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर’, ‘विधान संशोधन बिना महाधिवेशन अमान्य’, ‘एक व्यक्ति एक पद’, ‘युवालाई संगठनमा अधिकार देऊ’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरे।

धर्ना कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आकाश उप्रेतीले कांग्रेसले अब युवा पुस्ताको सोच र भूमिकालाई औपचारिक रूपमा स्वीकार्नुपर्ने समय आएको बताए। उनले संगठनका सबै तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गर्नेगरी विधान संशोधन गर्नुपर्ने माग दोहोर्‍याए।

नेविसंघले क्रियाशील सदस्यता वितरणमा युवाको संख्या कम्तीमा ३० प्रतिशत पुर्‍याउन, सरकार र पार्टी दुवै जिम्मेवारी एउटै व्यक्तिले नसम्हाल्ने व्यवस्था गर्ने लगायतका संरचनात्मक सुधारका माग पनि अघि सारेको छ।

जेन जी आन्दोलनपछि कांग्रेसभित्र युवा पुस्तालाई संस्थागत रूपमा स्थान दिनुपर्ने दबाब बढेको भन्दै नेविसंघले पार्टी नेतृत्वलाई सचेत र जिम्मेवार बन्नु चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार