रेसिङ अटोमोबाइल्सद्वारा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण सुरु



काठमाडौं । काठमाडौंको कलंकी खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडी खरिद–बिक्रीमा पारदर्शिता कायम गर्न ‘दुर्घटना रहित प्रमाणपत्र’ (No Accidental Certificate) वितरणको थालनी गरेको छ।

बुधबार आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रुद्र ढुंगेलले पूर्व राष्ट्रिय अनुसन्धान विभागका डीआइजी लक्ष्मण गुरुङलाई पहिलो प्रमाणपत्र हस्तान्तरण गर्दै योजनाको सुरुवात गरे।

ढुंगेलले पुराना गाडी खरिद गर्दा देखिने अविश्वास र शंकालाई अन्त्य गर्न प्रमाणपत्र वितरण सुरु गरिएको बताए। उनका अनुसार, बिक्री गरिएका गाडीमा आजसम्म कुनै दुर्घटना नभएको प्रमाणित गर्ने र यदि पछि दुर्घटना भएको प्रमाणित भएमा खरिद मूल्यमै गाडी फिर्ता लिने ग्यारेन्टी कम्पनीले दिनेछ।

कार्यक्रममा व्यापार सल्लाहकार सिताराम भट्टराईले पारदर्शी र जिम्मेवार व्यापारलाई थप बलियो बनाउन प्रमाणपत्र वितरणको योजना अघि सारिएको बताए। पूर्व डीआइजी गुरुङले भने यसले ग्राहकलाई निश्चिन्ततापूर्वक गाडी खरिद गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

सलीको इन्सुरेन्सका नयाँबजार शाखा प्रबन्धक शम्भु बस्य्यौलाले गाडी खरिदसम्मको जिम्मा रेसिङ अटोमोबाइल्सले बोकेझैं त्यसपछि हुने दुर्घटनामा बीमा कम्पनीले जिम्मेवारी लिने जानकारी दिए। त्यस्तै, कम्पनीका मेकानिकल इन्जिनियर घनश्याम रजकले हरेक गाडीको स्थिति सावधानीपूर्वक मूल्याङ्कनपछि मात्र प्रमाणपत्र वितरण गर्ने बताए।

कार्यक्रममा बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरूले रेसिङ अटोमोबाइल्सको पारदर्शी व्यापारिक अभ्यासको प्रशंसा गरेका थिए। सोही अवसरमा कम्पनीले आफ्नो नयाँ प्रमोसनल जिङ्गल पनि सार्वजनिक गरेको छ। सरकारले राष्ट्रिय शोकको दिनका रूपमा सार्वजनिक विदा दिएको भए पनि विश्वकर्मा पूजाको अवसरसँग मेल खाएर पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरिएको आयोजकले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार