एमालेमा केन्द्रीय कमिटी २५१ र पदाधिकारी १५ कायम गर्ने प्रस्ताव



काठमाडौं । नेकपा एमालेमा केन्द्रीय कमिटीको संख्या २५१ सदस्य कायम गर्ने प्रस्ताव गरिएको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेलले शुक्रबार दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावित संशोधनमा यस्तो प्रस्ताव गरेका हुन् । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा ३०१ सदस्यीय कमिटीलाई घटाएर २५१ कायम गरिएको छ ।

पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या २५१ हुने व्यवस्था अघि सारिएको छ । प्रस्तावित संशोधन विधानलाई यसअघि नै केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।

विधानको धारा १६ (२) मा ३०१ को केन्द्रीय किमिटीलाई संशोधन गर्दै १५ सदस्यीय पदाधिकारीसहित २५१ केन्द्रीय कमिटी हुने प्रस्ताव उपाध्यक्ष पौडेलले गरेका हुन् । प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्था हटाइएको छ, भने ६ उपाध्यक्षको संख्या घटाएर ३ मा झारिएको छ । प्रस्तावअनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सहित १५ जना पदाधिकारी रहने गरी प्रस्ताव गरिएको छ । पदाधिकारीमा महिला एकजना अनिवार्य गरिएको छ ।

स्थायी कमिटी र पोलिटब्युरो सदस्यको संख्या पनि घटाइएको छ । धारा १७ (२) को ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रूपमा राख्ने प्रस्ताव गरिएको छ भने ९९ सदस्यीय पोलिटब्युरोको संख्या घटाएर बढीमा एक तिहाइ रहने गरी निर्वाचनमार्फत पोलिटब्युरोको पूर्ति निर्वाचन प्रक्रियाबाट गरिने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार