एमालेले अन्याय गरेको गुनासो गर्दै महाधिवेशन प्रतिनिधिलाई विद्याले अपिल पठाउने



काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरूलाई लिखित अपिल पठाउने तयारी गरेकी छन्।

भण्डारी निकट स्रोतका अनुसार उनले अपिलमार्फत एमालेप्रतिको आफ्नो विश्वास र आस्थामाथि पार्टीले कुठाराघात गरेको भन्दै सत्य र न्यायको पक्षमा उभिन प्रतिनिधिहरूलाई आग्रह गर्ने भएकी छन्।

अपिलमा उनले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यतालाई गहिरो आस्था र विश्वासको विषय बताउँदै त्यसलाई रोक्ने कार्यलाई आफूमाथि गरिएको अन्यायको रूपमा व्याख्या गरेकी छन्। “पार्टीको विशेष निर्णयकै आधारमा आफू राष्ट्रपति बनेको तर त्यो जिम्मेवारीबाट फर्केपछि पुनः पार्टीमा सक्रिय हुन खोज्दा अवरोध गर्नु दुःखद भएको” अपिलमा उल्लेख गरिएको स्रोतले जनाएको छ।

भण्डारीले आफ्नो सदस्यता नवीकरण गर्ने क्रममा र त्यसपछि पनि पार्टीका बैठकमा सहभागी भए पनि कुनै प्रश्न नउठाइएको तर अहिले आएर सदस्यता अमान्य गरिएकोमा गुनासो व्यक्त गर्ने तयारी गरेकी छन्।

प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार