ओलीलाई पूर्वराष्ट्रपति भण्डारीका दुई प्रश्न



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बढ्दो राजनीतिक दूरीलाई सार्वजनिक गर्दै पत्रकारहरूलाई दुईवटा प्रश्न सोध्न आग्रह गरेकी छन्। विराटनगरको एक होटलमा आयोजित भेटघाट कार्यक्रममा उनले अब आफू ओलीलाई प्रत्यक्ष प्रश्न नगर्ने बताउँदै त्यस जिम्मेवारी पत्रकारलाई सुम्पिएकी हुन्।

भण्डारीले सुझाएको पहिलो प्रश्न प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीमा दिएको विवादास्पद अभिव्यक्तिसँग सम्बन्धित छ। उनले भनिन्, “तपाईंहरूको उहाँसँग भेट भइहाल्छ। त्यतिबेला सोध्नुहोला— सर, तपाईंले मदन भण्डारी, जसलाई पार्टीले जननेता मान्छ, गौरव ठान्छ, उहाँको निधनको ३२ वर्षपछि असार १४ मा किन त्यस्तो भन्नुभयो?”

दोस्रो प्रश्न मदन भण्डारी फाउण्डेसनबारे हो। उनले ओलीको असन्तुष्टिप्रति प्रश्न उठाउँदै पत्रकारलाई भनेकी छन्, “कुनै बेला यही फाउण्डेसनले तपाईंलाई चौतारी दिएको होइन? त्यतिबेला कसैले फाउण्डेसनलाई कर्के नजर लगायो भने त्यसको आँखा फुटाइदिन्छु भन्नुभएका तपाईंले आज किन फाउण्डेसनलाई त्यस्तो भन्नुभयो?”

भेटघाटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक जीवनको सुरुवात विराटनगरबाट भएको स्मरण गर्दै यहाँको विकासप्रति चिन्ता व्यक्त गरिन्। उनले मदन भण्डारीको हीरक जन्मजयन्ती समितिको संरक्षकका रूपमा आफू रहने र नियमित रूपमा कार्यालय जाने बताउँदै सक्रिय राजनीतिमा फर्कने संकेत पनि दिइन्।

यसका साथै, पार्टी केन्द्रीय कमिटीले सदस्यता नवीकरण रोकेको भनिए पनि आफूले सदस्यता नवीकरण गरिसकेको उनले दोहोर्याइन्। कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले यसलाई ताली बजाएर समर्थन गरेका थिए।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार