काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले मजबुती र विश्वसनीयताको झुठा दाबी गरेर गाडी बिक्री गरेको आरोप लगाउँदै यातायात व्यवसायीहरूले विरोध प्रदर्शन गर्दै क्षतिपूर्तिको माग गरेका छन्।
दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि.सँग आवद्ध व्यवसायीहरूले शुक्रबार पत्रकार सम्मेलनमार्फत फोर्स गाडी खरिद गर्दा जर्मनीको ‘मर्सिडिज बेन्ज’को इन्जिन भएको र इन्जिन, गियरबक्स तथा क्राउनमा ३ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी हुने आश्वासन दिइए पनि सबै दाबीहरू गलत सावित भएको बताए।
व्यवसायीहरूका अनुसार खरिद गरिएका गाडीमा इन्जिन सिज हुने, टायर फुत्किने, कमजोर पार्टपुर्जा प्रयोग हुने, सेन्टर रड बारम्बार फुत्किने, छिटो बिग्रने र महँगो स्पेयर पार्टसजस्ता समस्या देखिएका छन्। “यी कारणले व्यवसायीहरू ठूलो आर्थिक र सञ्चालनगत संकटमा परेका छन्,” दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि.का महासचिव देवान राईले बताए।
संस्थाका अध्यक्ष हरिबहादुर राईले आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.मार्फत फोर्स गाडी खरिद गरी पीडित बनेका सम्पूर्ण व्यवसायीलाई आर्थिक र मानसिक क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिनुपर्ने माग गरे। साथै, राज्यका सम्बन्धित निकाय तथा यातायात व्यवस्था विभागले यसबारे छानबिन गरी दोषी कम्पनीमाथि कानूनी कारबाही गर्नुपर्ने उनको जोड थियो।
प्रेश विज्ञप्ती
मिति: २०८२ साउन २३ गते, शुक्रबार
फोर्स गाडी खरिदबाट पीडित बनेका यातायात व्यवसायीहरूलाई आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले पारेको मर्का र क्षतिपूर्ति माग सम्बन्धमा
आदरणीय पत्रकार मित्रहरू तथा सम्पूर्ण सञ्चारमाध्यमहरू,
सर्वप्रथम, हाम्रो यस पत्रकार सम्मेलनमा उपस्थित भइदिनुभएकोमा दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. तथा फोर्स कम्पनीका गाडीहरू खरिद गरी पीडित बन्न पुगेका सम्पूर्ण यातायात व्यवसायीहरूको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छौं । आज हामी अत्यन्तै दुःख र पीडाका साथ, नेपालका लागि फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.बाट हामीमाथि भएको चरम अन्याय, धोकाधडी र त्यसले हाम्रो व्यावसायिक एवं व्यक्तिगत जीवनमा पारेको असरबारे सत्यतथ्य सार्वजनिक गर्न यहाँ उपस्थित भएका छौं । हाम्रो संस्था, दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि., वि.सं. २०७० सालमा यातायात व्यवसायीहरूको हकहितमा काम गर्ने उद्देश्यले “दिक्तेल हलेसी यातायात व्यवसायी संघ“ को नाममा स्थापना भएको थियो । नेपाल सरकारले यातायात संघसंस्था खारेज गर्ने निर्णय गरेपछि, हामीले वि.सं. २०७५ साल जेठ २८ गते यसलाई कम्पनी ऐनअन्तर्गत प्रा.लि.मा दर्ता गरी निरन्तर रूपमा खोटाङ–काठमाडौं लगायतका ग्रामीण सडकहरूमा यात्रुवाहक सेवा प्रदान गर्दै आएका छौं ।
हाम्रो दुःख र पीडाको श्रृंखला वि.सं. २०७२ सालबाट सुरु हुन्छ, जब हाम्रो तत्कालीन संघका अध्यक्ष श्री महेश तामाङले आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.बाट फोर्स कम्पनीको ९ सिट क्षमताको ’गामा’ जिप खरिद गर्नुभयो । त्यसपछि, वि.सं. २०७३ सालमा कम्पनीका तत्कालीन बजार व्यवस्थापक श्री सन्तोष नेपालसँग भएको छलफल र उहाँले दिनुभएको आश्वासनपछि हामीले आफ्नो संस्थामा फोर्स कम्पनीका गाडीहरू भित्र्याउने भद्र सहमति ग¥यौं । कम्पनीले गाडीको प्रदर्शन, विशेषगरी कच्ची सडकमा यसको मजबुती र विश्वसनीयताको बारेमा ठूला–ठूला दाबीहरू प्रस्तुत गरेको थियो । सोही विश्वासमा परेर हामीले संस्थामा आबद्ध हुने नयाँ व्यवसायीहरूले फोर्स कम्पनीकै गाडी किन्ने एक भद्र सहमति समेत ग¥यौं र परीक्षणका लागि सुरुमा एउटा फोर–ह्वील गाडी खरिद गर्ने निर्णयमा पुग्यौं ।
सोही निर्णयबमोजिम, म, यसै संस्थाको महासचिव देवान राईले वि.सं. २०७३ साल जेठ ११ गते ग १ ज ६६५८ नम्बरको १३ सिटे क्रुजर फोर–ह्वील जिप खरिद गरें । उक्त गाडीको मूल्य रु. ४० लाख ५० हजार कायम गरी रु. ८ लाख १० हजार डाउन पेमेन्ट आयामका तत्कालीन प्रबन्ध निर्देशक श्री राजन लम्साललाई बुझाइयो र बाँकी रकम सिद्धार्थ बैंक, महाराजगञ्ज शाखाबाट ऋण लिएर गाडी सञ्चालनमा ल्याएँ । तर, हाम्रो दुर्भाग्य
त्यहीँबाट सुरु भयो । गाडी किनेको ठ्याक्कै एक महिनापछि, वि.सं. २०७३ असार २५ गते, खोटाङको दिक्तेलस्थित कारागार नजिकै गुडिरहेको अवस्थामा गाडीको इन्जिन एक्कासि सिज हुन पुग्यो । नयाँ गाडी, त्यो पनि ’टेस्ट ड्राइभ’का लागि भनिएको र मेरो नाममा पास समेत भइनसकेको अवस्थामा इन्जिन सिज हुनु सामान्य घटना थिएन । मैले तत्कालै काठमाडौं गैरीधारास्थित आयाम इन्टरकन्टिनेन्टलको कार्यालयमा सम्पर्क गरी गाडी फिर्ता लिन र अर्को नयाँ गाडी उपलब्ध गराउन माग गरें । तर, कम्पनीका तत्कालीन एम.डी. श्री राजन लम्सालले गाडीको वारेन्टी भएकोले चिन्ता लिनुनपर्ने र तुरुन्तै मर्मत गरिदिने आश्वासन दिनुभयो ।
उहाँहरूकै आश्वासनअनुसार, वि.सं. २०७३ भदौ महिनामा कम्पनीका प्राविधिकहरू खोटाङ आएर गाडीको इन्जिन खोली काठमाडौं लगेर मर्मत गरी पुनः जडान गरिदिए । इन्जिन जडानपछि अब कुनै समस्या नआउने र आएमा सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाइयो । तर, मर्मतपछि पनि गाडीले कम्पनीले दाबी गरेजस्तो काम गर्न सकेन । इन्जिन कमजोर हुने, गाडीले नतान्ने जस्ता समस्याहरू देखिन थालेपछि मैले एक हप्ताभित्रै कम्पनीलाई जानकारी गराएँ । केही महिनापछि दुधकोशी र सुनकोशीमा बेलिब्रिज जडान भएपछि मैले गाडीलाई काठमाडौं लगेर वि.सं. २०७३ मंसिर महिनामा कम्पनीका बजार व्यवस्थापक श्री सन्तोष नेपाललाई चाबी बुझाउँदै गाडीले भने अनुसार सेवा नदिएकाले क्षतिपूर्ति माग गरें । लामो छलफलपछि वि.सं. २०७४ असार ८ गते म र कम्पनीबीच एउटा सम्झौता भयो, जसमा “दुई वर्षसम्म गाडीमा कुनै पनि खराबी आएमा सम्पूर्ण खर्च कम्पनीले वारेन्टीबापत व्यहोर्ने“ उल्लेख थियो । यही सम्झौताको आधारमा मैले पुनः गाडी सञ्चालन गर्ने प्रयास गरें । तर, सम्झौता केवल कागजमा सीमित रह्यो । गाडीको अवस्था झन्झन् बिग्रँदै गयो । २०७४ कार्तिक तिर फेरी इन्जिन सिज भयो । त्यसपछि मैले पुनः कम्पनीमा ३ लाख ५० हजार मेरै खर्चमा गाडी मर्मत गरें । फेरी पनि केही किलोमिटर गुड्न नपाउँदै गाडी बिग्रने, मर्मतमा अत्यधिक खर्च हुने र आम्दानी शून्य हुने अवस्था आएपछि मैले वि.सं. २०७५ मंसिर महिनामा गाडी र चाबीसहित कम्पनीको पेप्सीकोलास्थित ग्यारेजमा जिम्मा लगाएँ र यो कुराको जानकारी तत्कालीन एम.डी. राजन लम्साल र बजार व्यवस्थापक सन्तोष नेपाल दुवैलाई गराएँ । मैले स्पष्टसँग भनेँ, “एक वर्षसम्म हेर्दा पनि गाडीले काम गरेन, अब यो गाडी कम्पनीले नै फिर्ता लिनुपर्छ ।“ एक बर्ष भित्र नै गाडीको इन्जिन फेरी पनि बिग्रीएर कम्पनीमा नै बनाउँदा पनि अवस्था खराब भयो । त्यसैले कम्पनीले मलाई जसरी पनि क्षती पुर्ती दिनु पर्ने कुरा उठाँए । उहाँहरूले कम्पनीको व्यवस्थापनसँग सल्लाह गरेर निकास दिने मौखिक आश्वासन दिनुभयो, तर आजसम्म त्यो आश्वासन पूरा भएको छैन । आज ६ वर्षभन्दा बढी भइसक्यो, गाडी कम्पनीको ग्यारेजमा थन्किएको छ, तर म बैंकको किस्ता र ब्याजको भारीले थिचिएको छु । मलाई कुनै निकास दिने छाँटकाँट नदेखेपछि मैले वि.सं. २०८१ पुस २४ गते कम्पनीमा लिखित निवेदन दर्ता गरी क्षतिपूर्तिको माग गरें । तर, कम्पनीले मेरो मागलाई ठाडै अस्वीकार गर्दै उल्टै गाडी मर्मत गरेको खर्च मैले नै व्यहोर्नुपर्ने र कुनै क्षतिपूर्ति नदिने भन्दै धम्कीपूर्ण व्यवहार देखायो । सुरुमा गाडी किन्दाका प्रबन्ध निर्देशक श्री राजन लम्साल एक सामाजिक व्यक्तित्व हुनुभएकोले उहाँबाट अन्याय नहोला भन्ने विश्वास थियो,
तर उहाँले कम्पनी छाडिसक्नुभएको छ । हाल कम्पनीको प्रबन्ध निर्देशक श्री ध्रुवबहादुर थापा हुनुहुन्छ, जो मैले गाडी किन्दा कम्पनीको अध्यक्ष हुनुहुन्थ्यो । मेरो गाडीको समस्या र मैले भोगेको पीडाबारे उहाँ सुरुदेखि नै पूर्ण रूपमा जानकार हुनुहुन्छ । तर, आफू नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को पूर्व अध्यक्ष भएको र आफ्नो पहुँचमाथि कसैले केही गर्न नसक्ने भन्दै उहाँले शक्तिको दुरुपयोग गरिरहनुभएको छ । मैले मेरो समस्या समाधानका लागि उहाँसँग पटक–पटक भेट्न खोज्दा र फोन गर्दा पनि उहाँले भेट्न र कुरा गर्न चासो देखाउनुभएको छैन ।
आदरणीय पत्रकार मित्रहरू,
यो पीडा र अन्याय भोग्ने म एक्लो व्यक्ति होइन । आयाम इन्टरकन्टिनेन्टल र यसका कमसल गाडीहरूका कारण व्यवसायबाटै विस्थापित र ऋणमा डुबेका व्यवसायीहरूको लामो सूची छ । मेरो फोर–ह्वील गाडीमा समस्या देखिएपछि कम्पनीका प्रतिनिधिहरूले “फोर–ह्वीलमा केही समस्या भए पनि टु–ह्वील गाडी उत्कृष्ट छन्, कुनै समस्या छैन, समस्या आए हामी जिम्मेवार हुन्छौं“ भनी विश्वास दिलाएर हाम्रो संस्थाका अन्य व्यवसायीहरूलाई टाटा सुमो गाडी साटेर फोर्सकै ५ वटा १३ सिटे टु–ह्वील क्रुजर जिप किन्न सुझाए । तर, ती टु–ह्वील गाडीहरूको हालत पनि उस्तै रह्यो । खोटाङका व्यवसायी श्री हस्त राई र संखुवासभाको जिवन मगरले खरिद गर्नुभएको गाडीको ऋण आजसम्म तिर्न सक्नुभएको छैन । उहाँले किन्नु भएको गाडी पनि २ बर्ष नबित्दै खोटाङको एैंसेलु खर्कको डाँडामा अलपत्र परेर बसेको छ । उहाँको व्यावसायिक साझेदार जिवन मगर गाडीकै कारण उत्पन्न भएको आर्थिक संकट सहन नसकी विदेश पलायन हुन बाध्य हुनुभएको छ । हाम्रो संस्थाका अध्यक्ष श्री हरिबहादुर राई, कोषाध्यक्ष श्री जिवा श्रेष्ठ, सदस्य श्री टंक राई र श्री अनन्त श्रेष्ठले आफ्नो जग्गा बैंकमा धितो राखेर ४ वटा टु–ह्वील गाडी किन्नुभयो । तर, गाडीहरूले निरन्तर धोका दिएपछि र मर्मत खर्च धान्न नसकेपछि उहाँहरूले आफ्नो व्यवसायबाटै हात धुनुपरेको छ र जग्गासमेत जोखिममा परेको छ । त्रिदेव यातायात प्रा.लि.का अध्यक्ष मकर राई खरिद गर्नुभएका २ वटा टु–ह्वील फोर्स कम्पनीकै गाडीको कारण व्यवसायबाट विस्थापित हुनुपरेको छ । श्री महेश तामाङ रुपाकोट हलेसी यातायात व्यवसायीका संघका पूर्व अध्यक्ष हाम्रो संघमा पहिलो फोर्स गाडी भित्र्याउने व्यक्ति हुनुहुन्छ । उहाँ पनि सोही गाडीकै कारण व्यवसायबाटै पलायन हुनु भएको छ ।
नोवेल यातायात प्रा.लि संस्थाका व्यवसायीहरू श्री किशोर राई टु–ह्वील र श्री बद्रि गौतम, श्री दिपक दाहाल फोर्स कम्पनीकै फोर–ह्वील गाडी किनेकै कारण व्यवसायबाटै हात धुनुपरेको छ ।
आयाम इन्टरकन्टिनेन्टल ले हामिलाई देखाएको झूटो आश्वासनः
हामीलाई फोर्स गाडी किन्न आकर्षित गर्न कम्पनीले गाडीमा जर्मनीको विश्वप्रसिद्ध ’मर्सिडिज बेन्ज’को इन्जिन छ । इन्जिन, गियरबक्स र क्राउनमा ३ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी
छ । भनेको थियो । नेपालको आधिकारिक बिक्रेताले यति ठूलो आश्वासन दिएपछि विश्वास नगर्ने कुरै भएन । तर, व्यवहारमा यी सबै दाबीहरू केवल हामीलाई फसाउने जाल मात्र साबित भए ।
गाडीहरूमा देखिएका मुख्य प्राविधिक समस्याहरू ः
१. इन्जिन सिजः फोर–ह्वील गाडी किनेको एक महिनामै गुड्दागुड्दै इन्जिन सिज हुने।
२. टायर फुत्किनेः गाडी गुडिरहेकै अवस्थामा पटक–पटक टायर फुत्किएका छन् । खोटाङको हलेसि स्थित् कदुवा भन्ने ठाउँमा म देवान राईको गाडी टायर फुस्कीदा गाडी भित्ता ठोकिन पुग्यो, १३ यात्रु घाइते भए । मेरो मात्रै होइन, हरिबहादुर राईको गाडी सिन्धुलीको सुलि भन्ञ्जाङ भन्ने ठाउँमा टायर फुस्कीदाँ १३ जना घाईते भए । जिवा श्रेष्ठको पनि सिन्धुलीमै गुडीरहेकै अवस्थामा टायर फुस्केर सुनकोशीमा पुग्यो गाडि भित्तामा जोतियो । यहाँ पनि १३ जना नै घइते भएका थिए । यी प्रतिनिधि उदाहरण मात्रै हो । यस्ता धेरै उदाहरण छन् । एकै गाडीको धेरै पटक जति मर्मत गरेपनि टायर भने फुस्किनै रह्यो ।
३. कमजोर पार्टपुर्जाः गाडीको चक्का मोड्न प्रयोग हुने ’टक्सन रड’ पिच सडकका सामान्य खाल्डाखुल्डीमा समेत भाँचिने गथ्र्याे ।
४. गाडीको सेन्टर रड बारम्बार खुस्किरह्यो ।
५. छिटो बिग्रने र महँगो पार्टपुर्जाः गाडीका हरेक पार्टपुर्जाहरू अत्यन्तै छिटो बिग्रने र बजारमा अन्य कम्पनीको तुलनामा अत्याधिक महँगो थिए र अहिले पनि यहि नै स्थिती छ ।
व्यवसायीमाथि तेहेरो मारः
फोर्स कम्पनीका क्रुज र गामा जीपहरूका कारण हामीले तेहेरो आर्थिक मार खेप्नुपरेको छ । जब फोर्सको १३ सिटे गाडी बिच बाटोमा बिग्रन्थ्यो, हामीले यात्रुहरूलाई गन्तव्यमा पु¥याउन अर्को गाडी पठाउनुपथ्र्यो । तर, १३ जना यात्रु बोक्न टाटा सुमो जस्ता ९ सिटे गाडी २ वटा पठाउनुपर्दा हाम्रो खर्च तीन गुणाले बढ्न गयो । एकातिर गाडीको आम्दानी शून्य, अर्कोतिर बैंकको किस्ता र तेस्रोमा यात्रु व्यवस्थापनको अतिरिक्त खर्चले हामीलाई टाट पल्टाउने अवस्थामा पु¥यायो ।
हाम्रो मागः
आज यस पत्रकार सम्मेलनमार्फत हामी आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. र यसका सञ्चालकहरूसँग निम्न मागहरू राख्दछौं ः
१. कम्पनीको ग्यारेजमा थन्किएर बसेको (देवान राई) सहित अन्य व्यवसायीहरुको गाडीको सम्पूर्ण हरहिसाब गरी आजसम्मको बैंकको साँवा–ब्याजसहित पूर्ण क्षतिपूर्ति तत्काल उपलब्ध गराइयोस् ।
२. फोर्स कम्पनीका गाडीहरू खरिद गरी पीडित बनेका अन्य सम्पूर्ण व्यवसायीहरूको पहिचान गरी उनीहरूले भोगेको आर्थिक तथा मानसिक क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति प्रदान गरियोस् ।
३. कम्पनीले आफ्ना कमसल गाडीहरूमा देखिएको प्राविधिक त्रुटि सार्वजनिक रूपमा स्वीकार गरी बजारमा रहेका अन्य गाडीहरूको उचित व्यवस्थापन गरोस् ।
४. राज्यका सम्बन्धित निकायहरू (यातायात व्यवस्था विभाग, वाणिज्य विभाग, उपभोक्ता हित संरक्षण मञ्च) ले यस विषयमा गम्भीर छानबिन गरी दोषी कम्पनीलाई कारबाहीको दायरामा ल्याओस् ।
अन्त्यमा, आदरणीय पत्रकार मित्रहरू,
हामीले आफ्नो जीवनभरको कमाइ र जायजेथा धितो राखेर यातायात व्यवसायमा लगानी गरेका थियौं । तर, आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.को व्यापारिक ठगी र गैरजिम्मेवार व्यवहारले आज हामी सडकमा आउने अवस्थामा पुगेका छौं । हाम्रो यो पीडादायी आवाजलाई सम्बन्धित निकायसम्म पु¥याई हामीलाई न्याय दिलाउन र हाम्रो जीवन रक्षा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । साथै आगामी दिनमा हामि जस्ता अरु व्यवसायीहरु पनि ठगीको सिकार बन्नु नपरोस् भन्ने कामना गर्दछौं ।
धन्यवाद ।
दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि.
अध्यक्षः हरिबहादुर राई
महासचिवः देवान राई (सम्पर्क नंः ९८५१०२०२३९ ÷ ९७०४५८३२३९





