नाडा अटो शोमा ‘उड्ने ट्याक्सीदेखि अत्याधुनिक रोबोट’ प्रदर्शनामा राखिने



काठमाडौं, साउन २० । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शोको मिति सार्वजनिक गरेको हो।

“Go For More” नारासहित हुने यस प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ। शोमा नवप्रविधि, दिगोपन, स्मार्ट मोबिलिटी र सम्पूर्ण अटोमोटिभ पारिस्थितिकी प्रणाली समेटिने जनाइएको छ।

पहिलो पटक उड्ने ट्याक्सी र अत्याधुनिक रोबोट प्रदर्शनमा

यस वर्षको नाडा अटो शोमा दर्शकहरूका लागि विशेष आकर्षणको रूपमा UNITREE का चारपांग्रे अत्याधुनिक रोबोटहरूDeepal eVTOL UAV (उड्ने ट्याक्सी) पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरिने भएको छ। यी प्रविधिहरूले नेपालको अटो शो इतिहासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

१२५ भन्दा बढी प्रदर्शक, ऐतिहासिक सवारी पनि प्रदर्शनीमा

शोमा चारपांग्रे, दुईपांग्रे, हल्का व्यावसायिक सवारी, ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरणवित्तीय सेवा प्रदायकसमेत गरी १२५ भन्दा बढी कम्पनीहरू सहभागी हुनेछन्।
प्रदर्शनी क्षेत्रफल ३ लाख वर्गफुटमा फैलिएको छ भने एक लाख ६२ हजार ५ सय वर्गफुट केवल प्रदर्शनी स्थलका लागि छुट्याइएको छ। आयोजकले एक लाखभन्दा बढी आगन्तुकको सहभागिताको अपेक्षा गरेको छ।

पुराना सवारीका लागि ‘विन्टेज मोटर शो’

यस वर्षको अर्को विशेष प्रदर्शनी ‘विन्टेज मोटर शो’ हुनेछ, जसमा मोरिस माइनर, फियाट, मर्सिडिज, बीटल, टोयोटा आरटी४०, माज्दा फेमिलिया, टोयोटा एमआर२ लगायतका ऐतिहासिक सवारी साधन देख्न पाइनेछ।

स्वदेशी र अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकता

Made in Nepal Pavilion’ मा स्वदेशमै निर्माण भएका सवारी र पार्ट्स प्रदर्शित हुनेछन्। त्यस्तै, ‘International Business Pavilion’ ले अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ।

विजेताहरूलाई निःशुल्क सेवा

प्रदर्शनी अवधिभर दैनिक भाग्यशाली विजेता कार्यक्रमसमेत आयोजना गरिनेछ, जसअन्तर्गत १२ जना विजेताहरूलाई एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गरिने नाडाले जनाएको छ।

सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान

शोमा क्षेत्रगत जोन विभाजन, ट्राफिक सूचना डेस्क, मिडिया डेस्क, आपतकालीन स्वास्थ्य सेवा, निगरानी र दमकल सेवासमेतको व्यवस्था गरिएको छ।

नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ नेपाली अटोमोबाइल क्षेत्रका सरोकारवालाका लागि एक विशेष अवसर भएको भन्दै सर्वसाधारण, व्यवसायी र नवप्रविधिमा चासो राख्ने सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ साउन २१ गते मङ्गलवार