नेपालमा बजाजको इलेक्ट्रीक स्कुटर ‘चेतक’ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता



काठमाडौं । बजाजको बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर ‘चेतक’ नेपालमा सार्वजनिक भएको छ। बजाज मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले आइतबार एक कार्यक्रमकाबीच चेतकको ३५०१ भेरियन्ट सार्वजनिक गरेको हो।

स्कुटरको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार चेतक स्कुटर विगत एक वर्षदेखि नेपालका विभिन्न भूभागमा परीक्षण भइरहेको थियो, जसले लोमान्थाङसम्मको सफल यात्रा समेत पूरा गरिसकेको छ।

कम्पनीले काठमाडौंको नक्सालमा चेतकका लागि छुट्टै सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको जानकारी दिएको छ। चेतक ३५०१ मा ३.५ किलोवाटको फ्लोरबोर्ड-माउन्ट गरिएको ब्याट्री छ, जसलाई ० देखि ८० प्रतिशत चार्ज गर्न ४ घण्टा लाग्नेछ। फुल चार्जमा स्कुटरले १२७ किलोमिटरसम्म यात्रा गर्न सक्छ।

यसमा ३५ लिटरको बुट स्पेस, एलसीडी कन्सोल, म्युजिक कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स लाइट, गाइड मी–होम ल्याम्प र स्मार्टफोन कनेक्टिभिटी जस्ता आधुनिक फिचरहरू उपलब्ध छन्।

बजाज चेतकको प्रवेशसँगै नेपाली इलेक्ट्रिक स्कुटर बजारमा थप प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन २० गते सोमवार