एमालेको निर्णयः विद्याको बाटो बन्द, ओलीको बाटो खुल्यो

भण्डारीलाई पार्टीमा फर्कने बाटो बन्द गरेर ओलीले एमालेमा आफु सर्वेसर्वा भएको सन्देश


काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्कने बाटो बन्द गरेको छ । साथै एमालेले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको केन्द्रीय कमीटीले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले ७० वर्षको उमेर सीमा र दुई कार्यकालको प्रतिबन्ध हटाउने निर्णय लिएको हो, जसले विधान संशोधनको बाटो खोलेको छ। ७० वर्षको उमेर सीमा र दुई कार्यकालको प्रवन्धले एमाले अध्यक्ष केपी ओलीको अर्को पटक अध्यक्ष बन्ने बाटो बन्द भएको थियो ।

मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्दै प्रस्ताव प्रस्तुत गरेका थिए, जुन बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यद्यपि, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले भने उक्त प्रस्तावप्रति असहमति जनाएका थिए।

यसरी भण्डारीलाई पार्टीमा फर्कने बाटो बन्द गरेर ओलीले एमालेमा आफु सर्वेसर्वा भएको सन्देश दिएका छन् ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बुधवार