उमेर हदको विषयमा ओलीको तर्कः ७० वर्षे लगाउने हो भने मैले जेल बसेको १४ वर्ष घटाउनुपर्छ



नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र उमेहदको विषयमा भइरहेको विवादलाई काउण्टर दिँदै शनिबारको पोलिटब्युरो बैठकमा ७० वर्षे लगाउने हो भने आफु जेल बसेको १४ वर्ष घटाउनुपर्ने प्रस्ताव राखेको खबर बाहिरिएको छ । पोलिटब्युरो बैठकमा भण्डारी पक्षका नेताहरुलाई लक्षित गर्दै ओलीले यस्तो प्रस्ताव राखेका हुन् । पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटेरै कुरा गर्न तयार भएका ओलीले पोलिटब्युरोका नेताहरूसँग भने नेतृत्व नछोड्ने प्रष्ट सन्देश दिएका छन् ।

‘विद्याजीलाई हामीले राष्ट्रपति बनाएको हो । पार्टीले सल्लाह गरेर पठाएको हो’, ओलीले भनेका थिए, ‘तर अहिले हामीसँग सल्लाह नगरी राजनीतिमा आउने घोषणा गर्नुभयो । सरकार फेर्ने षड्यन्त्रमा लाग्नुभयो । उहाँलाई पार्टी बाहिर छलफल गर्नु परेको छ ।’ ७० वर्षे उमेर हद कार्यान्वयन गर्न नसकिने पनि ओलीले बताएका थिए ।

‘क–कसलाई ७० वर्षे उमेर हद मान्नुछ, उहाँहरूले माने हुन्छ, बिदा लिए हुन्छ’, ओलीले भनेका थिए, ‘म त कामको हिसाबले अहिले ५० वर्ष जस्तो खटिरहेको छु ।’ यदि ७० वर्षे उमेर हद लागू गर्ने हो भने आफूले १४ वर्ष जेल बसेको घटाउनुपर्ने ओलीले तर्क गरेका थिए । ‘७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ । जेल बस्दा मैले १४ वर्ष काम गर्न पाइनँ,’ ओलीले यसो भनिरहँदा बैठक हल हाँसोमय बनेको थियो । ‘मैले जेल बसेको समय घटाएर उमेर गणना गर्नुस् भन्दा सबै नेताहरू हाँस्नु भयो’, ती नेता भन्छन् ।

प्रकाशित मिति : २०८२ साउन ६ गते सोमवार