काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आगामी माघ २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले विभिन्न पदहरूमा आकाङ्क्षा देखाउन थालेका छन्। नेसपाले अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्ष गरी ११ पदाधिकारी चुन्दैछ। यसैबीच युवा नेता नेत्र चापागाईंले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनको नेतृत्व गरिसकेका नेत्रले उम्मेदवारी दिनका लागि तयारी गरिरहेका छन्। नेसपा महाधिवेशनमा १५ सय जना प्रतिनिधि सहभागी हुँदैछन्। त्यसमध्ये आधाभन्दा धेरैसँग आफूले सम्पर्क गरिसकेको भनाइ नेत्रको छ। नेत्रले सशक्त दाबी प्रस्तुत गरिरहँदा पार्टीका अरु नेता भने पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराईको विकल्प देख्दैनन्। प्रवक्तासमेत रहेका नेता कृष्ण शर्मा भन्छन्, ‘जसको नीति, उसकै नेतृत्वको मर्मअनुसार अगाडि बढ्छौँ। अहिलेका लागि पार्टीमा डा. बाबुराम भट्टराईको विकल्प तयार भइसकेको छैन।’
अर्का एक नेता त आफू डा. बाबुराम भट्टराईलाई मात्रै नेता मान्ने बताउँछन्। तर, नेत्र भने अध्यक्ष भट्टराईकै अर्थ्याइअनुरूप आफूले अध्यक्षको उम्मेदवारी दिने ढिपी कसेका छन्। भट्टराईले वैकल्पिक राजनीतिको नेतृत्व युवाबाट नै सहज रूपमा हुने बताउँदै आएको उल्लेख गर्दै उनले भने, ‘पार्टीका सबै पदाधिकारी निर्वाचनबाट आउनुपर्छ भन्ने हाम्रो नीति नै हो। यहीअनुरूप मैले पनि अध्यक्षमा उम्मेदवारी दिन्छु।’ आफूले यसबारे भट्टराईसँग सल्लाह भने नगरेको उनले बताए।
उमेरका हिसाबले बाबुराम नेत्रभन्दा दोब्बरका हुन्। विसं २०११ सालमा जन्मिएका बाबुराम २०८१ सम्म आउँदा ७० वर्ष पुगे। नेत्र भने भर्खर ३५ वर्ष पुगेका छन्। उनी शिक्षा अभियन्तासमेत हुन्। गत पुसमा १५ बुँदे मागसहित उनी काठमाडौंको माइतीघरमा नौ दिन उभिएका थिए।





