ललितपुर । भान्सालाई सुधार गरेर जीवनको मुल्यलाई प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ललितपुर महानगरभित्रका महिलाहरूका लागि लक्षित गरेर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा सोमबार आयोजित भान्साघर औषधालय कार्यक्रममा आयुर्वेद औषधिको महत्व र घरमै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्न सके अस्पताल धाउन आवश्यक नहुने जानकारी गराइएको थियो।
कार्यक्रममा ललितपुर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत डिल्ली शेर के.सी.ले भान्साबाट नै मानिसको जीवनको आयू निर्धारण हुने भन्दै गृहिणीहरूले घरका सदस्यहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । खराब खानपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले सांस्कृतिक चाडपर्वअनुसारको खाद्य सामग्रीहरूले शरीरलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान गर्ने बताए । उनले भान्सामा प्राप्त हुने आयुर्वेदिक खाद्यान्नहरु मात्रा मिलाएर खाएमा औषधि र नमिलेमा विष हुने बताउँदै भान्छा घर नै औषधिको भण्डार भएकोले विभिन्न खाद्यान्नसम्बन्धी जानकारी राख्नुपर्ने बताए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरका कार्यालय प्रमुख डा.सृजना मरासिनीले भान्सा सुधारेर जीवन सुधार गर्न जडिबुटीको उपयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । कार्यालय प्रमुख डा.मरासिनीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयुर्वेद औषधिको महत्व दैनिक जीवनमा अपरिहार्य रहेको बताइन् ।
आयुर्वेदिक चिकित्सक डाक्टर बिशाल के.सी.ले आयुर्वेदको प्रयोजन, यसको महत्त्व, आवश्यकता र प्रयोगका बारे अभिमुखीकरण गरेका थिए। उनले भान्सामा रहेका जडिबुटीलाई औषधिका रुपमा प्रयोग गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए।





