काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्षे उमेरहद पक्षधर विजयी भएपछि निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिन्छ । निर्वाचन आयोगले राति सार्वजनिक गरेको मतपरिणाम अनुसार उमेहद पक्षधरले खुला पक्षधरलाई २१ मत पराजित गरेको हो ।

उमेरहद लगाउने कि खुला गर्ने विवाद अन्त्य गर्न शनिबार निर्वाचन भएको थियो । कुल २३९८ मतदातामध्ये १७७९ जनाले मत खसालेका थिए । जसमा ३२ वर्ष उमेरहद लागु गर्नुपर्छ भन्ने पक्षमा ९०० मत परेको थियो भने विपक्षमा ८७९ मत परेको थियो ।
आगामी माघ ५ गतेबाट नयाँ नेतृत्वका चुन्नका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ । संगठनमा ३२ वर्षे उमेरहद लागु भएपछि निवर्तमान समितिका अधिकांश बिदा हुने भएका हुन् ।
एक सय ७८ सदस्यीय पदाधिकारीमध्ये निवर्तमान उपाध्यक्षबाट प्रविना अधिकारी मात्र अध्यक्षमा उम्मेदवार बन्न पाउने एक विद्यार्थी नेताले जानकारी दिए । उनका अनुसार अध्यक्षका दाबेदार रहेका निवर्तमान उपाध्यक्षहरू इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एम.सी, लक्ष्मीप्रसाद जोशी, नरेश रेग्मी, गजेन्द्रप्रसाद देव, राजकुमार याक्खो, मदन भुल, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्बरराज शाही, अच्युत भट्ट, केशव रावल उमेरहदका कारण आउट भएका छन् ।
यस्तै निवर्तमान महासचिव दीपेश पुन पनि उमेरहदका कारण बिदा हुने भएका छन् । यसै गरी उपमहासचिवमा ५/७ जना र सचिवमा १० जना जति अध्यक्षको उम्मेदवार बन्न सक्नेछन् ती नेताले बताए ।





