काठमाडौँलाई बाहिरी जिल्लासँग जोड्ने विभिन्न नाकामध्ये कान्ति लोकपथ खुलेको छ । लोकपथअन्तर्गत बाग्मती पुलको एउटा स्पान बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । पाइपमार्फत पानी डाइभर्ट गरेर पुल बगाएको खण्डमा माटो भरेर सडक सञ्चालनमा ल्याइएको हो । कान्ति लोकपथ सञ्चालनमा आएसँगै काठमाडौँ आउजाउमा सहज भएको छ ।
यस्तै त्रिभुवन राजपथ–नौबिसे सडकखण्ड, कुलेखानी–फाखेल–मातातीर्थ, कुलेखानी–फाखेल–फर्पिङ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्डहरु पनि अस्थायी रूपमा सञ्चालनमा आइसकेका छन् । अब काठमाण्डौ आउजाउका लागि यात्रुलाई केही सहज भएको छ । तर पूर्वलाई काठमाण्डौसँग जोड्ने बीपी राजमार्ग भने तत्काल खुलाउन समस्या छ ।
त्रिभुवन राजपथको नागढु्ङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्डमा यात्रा सहज छैन । पहिरो झर्नसक्ने र ढुङ्गा खस्न सक्ने जोखिम भएकाले यात्रामा सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह छ ।
यसैबीच पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ माईखोला छेउमा सडक पुनःनिर्माणपछि हिजो बेलुका ६ बजेदेखि सञ्चालनमा आएको छ ।





