सह-आयोजक संयुक्त राज्य अमेरिका आइसिसी टी-२० विश्वकपबाट बाहिरिएको छ । गएराति भएको खेलमा इंग्ल्याण्डसँग पराजित हुँदै अमेरिका विश्वकपको सुपर आठबाट बाहिरिएको हो।
यसअघि सुपर आठका दुई खेलमा पराजित भएको अमेरिका अंक विहीन हुँदै सुपर आठबाट बाहिरिएको हो। गएराति इंग्ल्याण्डका दुई ओपनरले सानदार ब्याटिङ गर्दा विना विकेटको क्षतिमा अमेरिकाथि १० विकेटको जित निकालेको हो।
अमेरिकाले दिएको ११६ रनको लक्ष्य इंगल्याण्डले ९.४ ओभरमा पूरा गरेको हो। ओपनर तथा कप्तान जोश बट्लरले विस्फोटक ब्याटिङ गर्दै ८३ रन बनाए। उनले ३८ बल खेलेर ६ चौका र ७ छक्का हाने।
ओपनर फिल सल्टले २१ बलमा २ चौका हानेर २५ रन जोडेपछि विना विकेटको क्षतिमा इंग्ल्याण्डले जित निकालेको हो। पहिले ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो।
जितसँगै इंग्ल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ। उसको चार अंक छ। यससँगै इंग्ल्याण्डको सेमिफाइनलमा स्थान सुरक्षित भइसकेको छ। दोस्रो स्थानमा दक्षिण अफ्रिका छ। उसको पनि ४ अंक नै छ।
तेस्रो स्थानमा रहेको वेस्ट इण्डिजको २ अंक छ। सेमिफाइनलमा जाने एक टिमको भने अन्तिम खेलबाट टुंगो लाग्ने छ।
समूह २ को सुपर आठको अन्तिम खेल दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच सोमबार बिहान जारी छ। जित्ने टिम सेमिफाइनल प्रवेश गर्नेछ।





