अन्ततः भत्कियो गठबन्धन, नयाँ गठबन्धन बन्दै प्रधानमन्त्रीमा प्रचण्डकै निरन्तरता



काठमाडौं । सरकार चलाइरहेको हालको गठबन्धन भत्कने पक्कापक्की भएको छ । बालुवाटारमा हिजो साँझ बसेको बैठकमा नयाँ गठबन्धन गरेर जाने विषयमा सहमति जुटेको छ । बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित दोस्रो तहका नेताहरू सहभागी थिए । उक्त छलफलमा हाललाई प्रचण्डलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने गरी मोटामोटी सहमति भएको छ ।

यस विषयमा थप छलफल गरेर लिखित सहमति नै गर्ने गरी बालुवाटारमा मध्यरातसम्म बसेको बैठकमा सहमति भएको बालुवाटार स्रोतको भनाइ छ । ‘अब कुनै नाटकीय मोड नआए कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने तय भएको छ’, स्रोतले बतायो ।

उक्त बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेतासँग थप छलफल समेत गरेको स्रोतले जनाएको छ। यतिबेला बालकोटमा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार