टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए



काठमाडौं । घरेलु मैदानमै हुने टी-२० विश्वकप छनोटका लागि स्पिनर सन्दीप लामिछानेलाई समेट्दै नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

सोमबारदेखि सुरु हुने छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् । देसाईले घोषणा गरेको टिममा सन्दीप फर्किएका छन् । यसअघि सन्दीपले व्यक्तिगत कारण देखाउँदै टी-२० त्रिदेशीय शृंखला खेलेका थिएनन् ।

नेपालले विश्वकप छनोटको तयारीका लागि घरेलु मैदानमै युनाइटेड अरब इमिरेट्स (यूएई) र हङकङ सम्मिलित त्रिदेशीय शृंखला खेलेको थियो । शृंखलाको फाइनलसम्मको यात्रा तय गरे पनि यूएईसँग चार विकेटले पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाएको थियो ।

विश्वकप छनोटको एसिया क्वालिफायर नेपालमा कात्तिक १३ गतेदेखि सुरु हुँदै छ । छनोटमा कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । छनोटबाट फाइनल पुग्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार