नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।
एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेकै दिन सोमबार देउवाले ओलीलाई पत्र पठाएका हुन्। राष्ट्रपतिमा पुस १० को सहमतिअनुसार नेकपा माओवादीले आफूहरूलाई सहयोग नगरेको भन्दै एमालेले सरकार छाडेको थियो।
सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोटस्थित निवास पुगेर ओलीलाई बुझाइसकेका छन्।
‘सभापतिज्यूले लेख्नुभएको पत्र मैले एमाले अध्यक्ष ओलीजीलाई घरमै पुगेर उहाँको हातमा राखेर आएको हुँ,’ मुख्यसचिव पौडेलले भने, ‘राष्ट्रपतिमा हाम्रा उम्मेदवार पौडेलजीलाई सहयोग गर्न सभापतिज्यूले पत्रमा उल्लेख गर्नुभएको छ।’
प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार





