इजरायल रोजगारी : केयरगिभरको छनोट प्रक्रिया पुनरावलोकन गरिने



काठमाडौँ । इजरायलमा काम गर्ने सहायक श्रमिक (केयरगिभर)को छनोट प्रक्रियालाई पुनरावलोकन गरिने भएको छ । यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरावलोकन गर्ने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपालका लागि इजरायली राजदूतसँग भएको पटकपटकको छलफलमा सबै प्रक्रिया पुनरवलोकनको विषय उठेको हो ।

विभागअन्तर्गतको इजरायल/जापान शाखाका निर्देशक डम्बरबहादुर सुनुवारले इजरायलमा नेपाली केयरगिभर लैजाने कार्य ढिलो भएकाले यसलाई सुधार गरेपछि मात्रै नयाँ मागसम्बन्धी काम गर्न प्रस्ताव इजरायली पक्षसँग गरिएको जानकारी दिए ।

हालको प्रक्रियाले श्रमिकलाई आर्थिक रूपमा मर्का परेकाले अब नयाँ आउने मागमा यस्तो नहोस् भनेर अहिलेदेखि नै पुनरावलोकनको प्रस्ताव गरिएको उनको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार