प्रचण्डलाई मिल्यो ओलीको साथ, १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बन्ने



प्रचण्डलाई मिल्यो ओलीको साथ, १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बन्ने

काठमाडौं । बालकोटमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटाएको छ । प्रचण्ड गठबन्धन फुटेको घोषणा गर्दै बालुवाटारबाट बालकोट पुगेका थिए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । प्रधानमन्त्री बन्ने अठोट लिएका प्रचण्डलाई नेपाली कांग्रेसले साथ नदिएपछि उनी ओलीको शरणमा पुगेका थिए ।

ओलीले यसअघि नै आफ्नो निवासमा भेला पारेर राखेका रवि लामिछाने, अशोक राइ, राजेन्द्र लिङ्देनलाई समेत प्रचण्डलाई समर्थन गर्न आह्वान गरेपछि उनको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । बैठकमा पछि पुगेका सिके राउतले समेत प्रचण्डलाई नै समर्थन गरेका थिए ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

अब बन्ने नयाँ सरकारमा नेकपा एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, जनमत पार्टी छ र नागरिक उन्मुक्ति पार्टी चारगरि १६६ जना सांसदको समर्थन रहनेछ ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार