गोल बराबर भएमा कसरी हुन्छ विश्वकपमा गोल्डेन बुटको निर्णय ?
काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेल आज हुदै छ । फ्रान्स र अर्जेन्टिनाबीच हुने यस विश्वकपको फाइनल खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि हुदैछ । यसैक्रममा यस विश्वकपका गोल्डेन बुटको दौडमा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे र अर्जेन्टिनाका कप्तान लियोनेल मेसीबीच प्रतिष्पर्धा रहेको छ ।
मेसी र एम्बाप्पेले अहिलेसम्म यस विश्वकपका ६-६ खेलमा ५-५ गोल गरेर आफुलाई गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी राखेका छन् ।
त्यस्तै मेसी र एम्बाप्पेलाई पछ्याउदै अर्जेन्टिनाका जुलियन अल्भारेज र फ्रान्सकै अर्का फरवार्ड ओलिभर जिरोउड ४-४ गोल गरेर दोस्रो स्थानमा रहेका छन् ।
विश्वकपमा गोल्डेन बुट सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ । त्यस्तै दुई खेलाडीले बराबरी गोल गरेमा गोलसहित धेरै असिस्ट गरेको खेलाडीलाई गोल्डेन बुट प्रदान गर्ने फिफाले जनाएको छ । त्यस्तै दुई भन्दा बढी खेलाडीले बराबरी गोल गरेको अवस्थामा भने विश्वकपमा कम मिनेट खेलेको खेलाडीलाई गोल्डेन बुट दिने फिफाले नियम बनाएको छ ।
अहिले मेसी र एम्बापेको बराबरी गोल छ । फाइनल खेलपछि पनि अवस्था यस्तै रह्यो भने गोल्डेन बुट कसलाई दिइन्छ ? फिफाको नियमअनुसार दुई वा दुईभन्दा बढी खेलाडीले बराबर गोल गरेमा असिस्ट गोलको आधारमा गोल्डेन बुट बिजेता छानिने छ । यस अवस्थामा अहिलेसम्म मेसीले ३ गोल असिस्ट गरेका छन् भने एम्बाप्पेले २ गोल असिस्ट गरेका छन् । त्यसैले अहिलेको अवस्था रहेमा मेसीले यस विश्वकपको गोल्डेन बुट जित्ने छन् ।
तर एम्बापेले एक गोल असिस्ट गरेर मेसीको बराबरी गरेमा भने गोल्डेन बुट जित्ने सम्भाना रहन्छ । किनकी अहिलेसम्म मेसीले यस विश्वकपमा ५७० मिनेट खेलेका छन् भने एम्बाप्पेले ४७७ मिनेट मात्र खेलेका छन् ।
यसअघि २०१८ को विश्वकपमा ६ गोल गरेर ईङल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका थिए ।
यस विश्वकपमा अहिलेसम्म ६३ खेल सम्पन्न हुदा कुल १६६ गोल भएका छन् । यस विश्वकपमा प्रति खेल गोल औसत २.६३ रहेको छ ।





