हाम्रो जमिन फिर्ता ल्याउँछौँ, एक इन्च पनि छाेड्दैनाैँ : अध्यक्ष ओली



दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज शुक्रवार दार्चुलामा उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भने, ‘हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताका रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इन्च पनि छोड्दैनौँ ।’

भारतले विभिन्न बहानामा काली नदीको उद्गम स्थानसमेत नक्कली बनाएको भन्दै उहाँले सन् १९६६ मै स्व.प्रेमसिंह धामीले यो क्षेत्रको आवाज उठाएको स्मरण पनि गरे । पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिन्ने भएको दाबी गरे ।

प्रकाशित मिति : २०७९ कार्तिक १८ गते शुक्रवार