खाद्य सुरक्षाका लागि अमेरिकाले नेपाललाई डेढ करोड डलर दिने



खाद्य सुरक्षाका लागि अमेरिकाले नेपाललाई डेढ करोड डलर दिने

संयुक्त राज्य अमेरिकाले खाद्य सुरक्षाका लागि नेपाललाई डेढ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार अमेरिकी सहयोग नियोग युएसएडमार्फत नेपाललाई उक्त रकम दिन लागिएको छ। अमेरिकी सरकारले हालै विश्व खाद्य संकटलाई कम गर्न विभिन्न मुलुक र संस्थालाई २.७६ अर्ब डलर सहायता गर्ने घोषणा गरेको थियो। सोही घोषणाअन्तर्गत सहायता पाउने ४७ मुलुक र क्षेत्रीय संस्थामध्ये नेपाल पनि परेको हो।

‘रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण संसारभरि बढिरहेको खाद्यान्नको मूल्यबाट प्रभावित हुने जनसंख्यालाई जोगाउन अमेरिकी सरकारले उक्त रकम दिन लागेको हो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जर्मनीमा भएको जी-७ मुलुकहरूको सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व खाद्य संकटसँग जुध्न अमेरिकाले विभिन्न मुलुकलाई सहायता गर्ने घोषणा गरेका थिए।

अमेरिकाले दिन लागेको पैसा कृषकहरूको उत्पादन बढाउन, पाँच वर्षमूनिका बच्चा र गर्भवती महिलाको पोषणलगायत विषयमा उपयोग गरिनेछ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार