रोजगारदातामाथि कडाइ गर्दै साउदी अरब ! कस्तो असर पर्ला ?



रियाद। साउदी सरकारले रोजगारदातामाथि कडाइ गर्न थालेको छ।उसले नयाँ नियम जारी गर्दै श्रमबजारलाई सुधार गर्ने प्रयास थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।साउदीको सार्वजानिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारवाही गरिने चेतावनी दिएको हाे।

यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिएपनि रोजगारदाता कारवाहीको भागिदार हुनुपर्नेछ। पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १० हजार रियालसम्म जरिवाना र १ वर्षसम्म कैद सजाय हुने चेतावनी दिएको छ।

रोजगारदाता विदेशी भएको खण्डमा उसलाई देश निकाला समेत गरिने बताइएको छ।यी नियमको पालना नगर्ने रोजगारदाताले ५ वर्षसम्म नयाँ श्रमिक भर्ना गर्न पाउने छैनन्।यस्तै स्थानीय सञ्चारमाध्यममा उनीहरुकै खर्चमा नाम सार्वजनिक गर्ने व्यवस्था समेत गरिएको पब्लिक सेक्युरिटीले जनाएको छ।

पछिल्लो समय कतिपय रोजगारदाता कम्पनीले आफ्ना श्रमिकलाई अन्यत्र काम लगाउने प्रवृत्ति बढेपछि उसले नयाँ नियम ल्याएको हो।केही रोजगारदाताले फाइदाको लागि आफ्ना श्रमिकलाई अन्यत्र काममा लगाउने गर्छन्।साउदीको नियमअनुसार सम्बन्धित रोजगारदाताबाहेक अन्यत्र काम गर्न पाइँदैन।

यसरी काम गर्नु एक किसिमले अवैध जस्तै हो। जसले श्रमिक नै कानूनी रुपले कमजोर हुने र,आफ्नो अधिकारबाट समेत वञ्चित हुनसक्छन्।

यस्तै, पब्लिक सेक्युरिटीले आवास, श्रम र सीमा सुरक्षा नियमको कुनै उल्लङ्घन भएको पाइएमा मक्का र रियाद क्षेत्रमा ९११ नम्बर र अन्य क्षेत्रमा ९९९ नम्बरमा सम्पर्क गरेर उजुरी गर्न आह्वान समेत गरेको !! प्रवास खबर

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार