कांग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षड्यन्त्र भइरहेको छ : वरिष्ठ नेता पौडेल



हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले अन्तर्राष्ट्रिय शक्तिहरु र नेपालका कम्युनिष्टहरु एकताबद्ध भइ नेपाली कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताए । वरिष्ठ नेता पौडेलले गठबन्धन आजको आवश्यक्ता भएपनि आगामी चुनावमा कम्युनिष्टहरु एक ठाउँमा उभिएर काँग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गरे ।

उनले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले माओवादी, एकीकृत समाजवादी लगायतका कम्युनिष्ट दलहरु कम्युनिष्ट एकता गरेर अघि बढ्ने योजनामा रहेको बताए ।

उनले भने, ‘गठबन्धन आजको आवश्यक्ता हो, किनभने आज नेपाललाई स्थिरता चाहिएको छ । सुशासन चाहिएको छ । सामाजिक न्याय चाहिएको छ । विकास चाहिएको छ । अस्थिरताबाट नेपाललाई मुत्तः गराउनुछ । कम्युनिष्टहरुले देश चलाउन सकेनन् । त्यसकारण भोलिको चुनावसम्म पनि गठबन्धनको आवश्यक्ता छ । नेपाली काँग्रेसभित्र पनि अहिले कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने छ भने कम्युनिष्टहरु भित्रपनि कम्युनिष्ट एकताको कुरा छ ।’

उनले फेरि भने, ‘माओवादी भित्रपनि एकथरी कम्युनिष्ट एकता गर्नुपर्छ भन्नेमा छन् । समाजवादी पार्टीभित्र पनि कम्युनिष्ट एकता गर्नुपर्छ भनेर जोड दिइरहेका छन् । अन्तर्राष्ट्रिय शक्तिहरु पनि कम्युनिष्टलाई एकै ठाउँमा राख्नुपर्छ भनेर लागेका छन् । त्यतिमात्र होइन नेपाली काँग्रेसलाई एक्लो पारेर यो मुलुकमा अरु सबैलाई एकै ठाउँमा राखेर महागठबन्धन गराउने कोशिहरु भइरहेका छन् । यो प्रयास नेपाली काँग्रेस र प्रजातन्त्रलाई कमजोर पार्ने कोशिस हो भनेर बुझ्न जरुरी छ । हामीले चुनावी तालमेल मात्र गरेका हौँ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले सरासर झुटो बोले
यसका साथै वरिष्ठ नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सार्वजनिक कार्यक्रममा दिएको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले लेखेको भन्ने कुरा झुटो रहेको दाबी गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत असार २४ गते एक सार्वजनिक कार्यक्रममा २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले ड्राफ्ट गरेको दाबी गरेका थिए ।

वरिष्ठ नेता पौडेलले यस्ता गलत सूचनाहरु हुन नदिन सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने बताए । उनले केपी ओलीले नाटकीय रुपमा फलानो रुखमुनि बसेर सम्बोधन ड्राफ्ट गरेको भनेपनि त्यसबेला ओली कुनै आन्दोलनमै नरहेको दाबी गरे । गलत सूचना दिएर जनतालाई दोधारमा पारिएको र कांग्रेसलाई मिस अण्डरस्ट्याण्डिङको शिकार बनाउन खोजिएको आरोप लगाए ।

उनले भने, ‘केपी ओलीले केही दिनअघि भन्नुभयो । के भन्नुभयो भने, राजाले गरेको घोषणा मैले बल्खुमा बसेर लेखेको हो भन्नुभयो । नाटकीय रुपमा फलानो रुखमुनि बसेर लेखेको हो भन्नुभयो । तर राजाले गरेको घोषणालाई हामीले संसद सुचारु भएको छैन । भनेर हामीले आन्दोलन गरेका थियौँ । तर त्यो आन्दोलनमा उहाँ कहाँ हुनुहुन्छ मलाई थाहा छैन । तर राजाका सचिव महाराजगञ्जमा आएर तीनपटकसम्म हामीले सच्याउँदै अनि राजाले जारी गरेको घोषणालाई केपी ओलीले मैले लेखेको वक्तव्य भनेर भने ।’

उनले फेरि भने, ‘त्यस्तो किसिमको झुटो सूचना जनतालाई दिने ? यस्ता धेरै गलत सूचना दिएर जनतालाई दोधारमा पारिएको छ । नेपाली कांग्रेसलाई मिस अण्डरस्ट्याण्डिङको शिकार बनाउन खोजिएको छ ।’ त्यस्तै वरिष्ठ नेता पौडेलले पार्टीभित्रको आन्तरिक एकतालाई विशेष जोड दिएर जान जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार