बेष्टिनेटमाथिको अनुसन्धानले मलेसियामा कामदार आपूर्तिमा केही ढिलाइ हुने संकेत



बेष्टिनेटमाथिको अनुसन्धानले मलेसियामा कामदार आपूर्तिमा केही ढिलाइ हुने संकेत

काठमाडौं : मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्ले बेष्टिनेटमाथिको अनुसन्धानले विदेशी कामदार आपूर्तिमा केही ढिलाई हुने बताएका छन् । त्यहाँको भ्रष्टाचारविरूद्ध छानविन गर्ने निकायले गत मंगलबार क्लालाम्पुरस्थित बेष्टिनेट कार्यालयमा छापा मारेको थियो ।

मलेसियाको ‘दातुक शेरी’ उपाधि लिएका बंगलादेशका नागरिक अमिन मिर अब्दुल नुरले सञ्चालन गरिरहेको बेष्टिनेट कम्पनीले मलेसियामा रोजगारीमा आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण रिपोर्टको परीक्षण ‘स्क्रिनिङ’ गर्दै आइरहेको छ ।

मन्त्री साराभानन्ले उक्त कम्पनीले गर्ने काम नरोकिने तर ‘स्लो’ हुने बताए । मलेसियामा विदेशी कामदारको अभाव देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । विदेशी कामदारको भिसा एप्रुभलमा ढिलाइ गरिरहेको भन्दै मलेसियाका निजी क्षेत्रका उद्योगीहरूले सरकारको आलोचना गरेका छन् ।

यस्तो अवस्थामा विदेशी कामदार आपूर्ति प्रक्रियामा संलग्न बेष्टिनेटमाथिको कारबाही कामदार आपूर्तिमा समस्या थप्ने कतिपयको चिन्ता छ । मलेसियाका पाम आयल, कन्ट्रक्सन तथा म्यानुफ्याक्चरिङ सेक्टरमा विदेशी कामदारको माग अनुसार पूर्ति हुन नसकेको बताइएको छ ।

मानव संशाधन मन्त्रालयले गर्ने डिमाण्ड एप्रुभलको काममा भने समस्या नरहेको मन्त्री साराभानन्को भनाइ छ । गत जुन महिनामा मन्त्री साराभानन्को बंगलादेश भ्रमणमा मलेसिया कामदार पठाउन २५ वटा मात्र म्यानपावर कम्पनी छनोट गरी सिण्डिकेट खडा गरेको भन्दै मलेसियामा छानविन जारी छ ।

बेष्टिनेटका सञ्चालक अमिनलाई मंगलबार र बुधबार बंगलादेशमा २५ वटा म्यानपावर कम्पनी छनोट सम्बन्धमा सोधपुछ गरिएको र कडा निगरानीमा राखिएको बताइएको छ ।

मध्यान्ह डेली बाट

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार