ललितपुर । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा ललितपुरमा चुनावी सरगमी बढेको छ। देशको राजधानीसंगै जोडिएको ललितपुर जिल्लाको एक मात्रै महानगरपालिका ललितपुर महानगरपालिकामा भने चुनावी माहौल तातेको अवस्था छ ।
२०७४ बैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको ललितपुर महानगरमा वर्तमान नगरप्रमुख चिरीबाबु महर्जन आफ्नो कुर्सी जोगाउने दाउमा छन् भने कांग्रेसकै नेताद्वय भरतलाल न्याछ्यों र प्रेमकृष्ण महर्जन चिरीबाबुलाई महानगरको कुर्सीबाट फाल्ने अभियानमा छन् ।
गत निर्वाचनमा तत्कालीन सभापति मदनबहादुर अमात्यको निगाहमा ललितपुर महानगरको नेतृत्वका लागि बक्सिस पाएका चिरीबाबु काँग्रेसको जिल्ला तहमै अलोकप्रिय बन्दै गएका कारण भरतलाल न्याछ्यों र प्रेमकृष्ण महर्जन मध्ये एक जनालाई नगरप्रमुखको टिकट हात लाग्ने सम्भावना बढ्दै गएको कांग्रेस कार्यकर्ताहरुको भनाई छ । ललितपुर महानगरको नेतृत्वमा रहेको बेलामा केन्द्रीय समितका नेतालाई समेत नचिनेका चिरीबाबुलाई यस पटक जिल्ला नेतृत्वको आशिर्वाद प्राप्त नहुने प्रष्ट भएको बताउँछन् ललितपुर क्षेत्र नं.३ कै एक कार्यकर्ता ।
सम्पदाका दृष्टिकोणले देशकै महत्त्वपूर्ण मानिएको ललितपुर महानगरको नेतृत्व हत्याउन कांग्रेसभित्र जस्तै नेकपा एमाले र माओवादीमा पनि नेताहरु शशक्त रुपमा क्रियाशील भएर लागि परेका छन् । नेकपा एमालेबाट निवर्तमान अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र नेता बाबुकाजी प्रधानले दावेदारी गरिरहेका छन् । व्यञ्जनकार गत निर्वाचनमा चिरीबाबु महर्जनसंग ३२४ मतले पछि परेका कारण महानगरको नेतृत्वमा पुग्नबाट बञ्चित भएका थिए।
दुई वटा प्रमुख दलहरुबीच महानगरको नेतृत्वका लागि रस्साकस्सी चलिरहँदा तेस्रो शक्ति नेकपा माओवादी केन्द्रबाट पनि नेताहरू महानगरको नेतृत्वका लागि दावेदारीको चर्चा चलाइरहेका छन् । अघिल्लो निर्वाचनमा महानगरको प्रमुखमा पराजित भएका दिपेश महर्जन बागमती प्रदेशको सांसद भइसकेका छन् । त्यसकारण महानगरको नेतृत्वमा उनको दावी नरहन सक्ने माओवादी केन्द्र निकट कार्यकर्ताहरु वताउँछन् ।
दिपेशको दावेदारी नरहेपछि माओवादी केन्द्रबाट नेताहरु बाबुराजा बज्राचार्य, सरोज डंगोल र कुललाल डंगोल सक्रिय भएर लागि परेका छन् । सरोज डंगोल संसदीय निर्वाचनमा २०७० मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र महर्जन र २०७४ मा नेकपा एमालेका कृष्णलाल महर्जनसंग पराजित भएका व्यक्ति हुन् । कुलाल डंगोल ज्यापू समाजमा क्रियाशील अग्रज ब्यक्तित्व हुन् ।





