वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नगर प्रमुख सरावगी–२०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका थिए । शनिबार वीरगञ्जमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नगर प्रमुख सरावगीलाई दोसल्लाह ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले पार्टी अध्यक्ष ओली जस्तो निर्णय गर्ने क्षमतावान नेता अन्य कुनै राजनीतिक दलमा नभएको भन्दै आफू ओलीको व्यक्तित्वबाट प्रभावित भएको बताए । उनले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई हरेक कार्यमा असहयोग गरेको गुनासो गरेका छन् । उक्त पार्टीमा हाल पनि जातिवादको राजनीति हावी भएको भन्दै जातिवादको राजनीतिले जसपा राष्ट्रिय पार्टी बन्न नसक्न उनले बताए ।
सरावगीले राष्ट्रिय पार्टी भनेको एमाले भएको बताउदै ओली नेतृत्वको पार्टीले अब मुलुकलाई सकारात्मक दिशातर्फ लैजाने बताए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिब तथा प्रदेश न.२ का इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटीका सदस्य प्रभु शाह, एमालेका पर्सा जिल्ला ईन्चार्ज प्रभु हजरालगायतका सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यसअघि नगर प्रमुख सरावगी नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा रहेको थियो । स्थानीय निर्वाचन नजिकीए लगतै पर्सा जिल्लामा पार्टी प्रवेश कार्यक्रमको लहर चलेको छ । जसपाका थप अन्य नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने चर्चा रहेको छ ।





