एमालेको माग पुरा गर्न तयार भयो काँग्रेस, सभामुख हटाएर ओली संग मिल्ने यस्तो छ तयारी !



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरूले प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । उनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी फेल भए‚ त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुने समेत बताए । संसद्‍मा पेश भएको एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दल र विपक्षी दलसँग समेत संवाद भइरहेको भन्दै नेता पौडेलले कांग्रेस एमसीसीबाट पछि हट्न नसक्ने बताए ।

कांग्रेसले एमसीसीलाई फेल हुन दिँदैन । एमसीसी फेल गराएर देशलाई अनिष्टको बाटोमा जान दिँदैन पौडेलले भने, ‘सकेसम्म सहमतिबाट अघि बढौँ भनेर छलफल भइरहेको छ, टुंगो लागेको छैन । तर, पास गर्नुको विकल्प छैन । नेता पौडेलले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विपक्षीका माग पूरा गर्छु भनेर अघि बढ्नुपर्ने अवस्थामा पुग्न बाध्य नपार्न आग्रह गरेको बताए ।

‘मैले उहाँहरूसँग छलफल गरिरहेको छु, र उहाँहरूलाई भनेको पनि छु,’ पौडेलले अघि भने, ‘प्रधानमन्त्रीका अघिल्तिर एमसीसी पास गर्न दुईवटा अप्सन छन् एउटा गठबन्धनमा सहमति गर्ने, अर्को विपक्षीको माग पूरा गर्ने । तपाईँहरू प्रधानमन्त्रीको प्रस्तावमा सहमत हुनुहोस्, नत्र प्रधानमन्त्रीले विपक्षीका माग पूरा गर्नुपर्ने अवस्था आउन सक्छ ।

उनले एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको भन्दै यसबारे चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए । ‘प्रधानमन्त्रीलाई बाध्य नपार्नुस्, तपाईंहरूले छिटो निर्णय दिनुभयो भने गठबन्धन र सरकार दुवैले गति पाउँछन्,’ पौडेलले गठबन्धनका नेताहरूसँग भनेको सुनाउँदै भने, ‘एमसीसी फेल हुँदाको परिणाम तपाईंहरूलाई पनि थाहा छ, देशलाई कुन बाटोमा लैजाने तपाईंहरूको हातमा छ । नेता पौडेलले एमसीसी पास गर्नुको विकल्प नभएको बताए ।

‘एमसीसी फेल भए मुलुक अनिश्चितताको बाटोतर्फ धकेलिन्छ, अनिष्ट पैदा हुन्छ, जो नेपालका लागि अत्यन्तै दुर्भाग्य हुन्छ,’ उनले भने, ‘संसद्‌मा पुगेको विषयलाई त्यहीँबाट दलहरूले छिटो निकास दिनुपर्छ । सरकारले गठबन्धन दलहरूकै विरोधका बीच एमसीसी सम्झौता संसद्‌मा टेबल गरिसकेको छ । बिहीबारको बैठकमा त्यसबारे छलफल सुरु गर्ने तयारी छ । प्रधानमन्त्री देउवाले संसद्‌मा त्यसबारे दुई दिन छलफल गर्ने र पास गर्ने मनस्थिति बनाएका छन् । एमसीसीमा सहमति जुटाउन देउवाले गठबन्धन र विपक्षी सबै दलसँग संवाद गरिरहेका छन् ।

एमसीसी सम्झौता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्‌मा दर्ता गराए पनि अहिले एमालेले एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्नेबारे प्रस्ट पारिसकेको छैन । एमसीसीको पक्षमा मतदान गर्नुपर्ने भए आफूहरूका माग पूरा गर्नुपर्ने एमालेको माग छ । एमालेले पार्टीको ह्वीप नमान्ने माधवकुमार नेपालसहित १४ सांसदको पद खारेजीको सूचना टाँस गर्नुपर्ने भन्दै संसद्‌मा निरन्तर विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार