सरकारले चुनावको घोषणा नगर्दै निर्वाचनको लागि आवश्यक तयारीलाई तिव्रता दिएको छ । सोही अनुसार बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन दिएको छ ।
सुरक्षा तयारीका लागि गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
उक्त बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था र आगामी जेठमा हुने स्थानीय तह निर्वाचन तयारीबारे चारै सुरक्षा निकायले गृहमन्त्री खाणलाई ब्रिफिङ गरेका थिए।
बैठकमा गृहमन्त्री खाणले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग स्थानीय तह निर्वाचनका लागि आवश्यक जनशक्तिको विवरण र स्रोत सामाग्रीसहित सुरक्षा योजना ल्याउन निर्देशन दिएका छन्।
गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार मन्त्री खाँणले चारै निकायलाई निर्वाचनमा परिचालन हुने जनशक्ति र लाग्ने स्रोत साधनसहितको विस्तृत योजना अर्को बैठकमा ल्याउन निर्देशन दिएका हुन्।
‘जेठमा निर्वाचन हुने भएको छ। त्यसका लागि के कति जनशक्ति र सामाग्री आवश्यकता पर्छ? एकै चरणमा निर्वाचन हुने भएकाले कसरी परिचालन हुने? त्यसका लागि के के चाहिन्छ?’, खाणले भने, ‘चारै निकायले अर्को बैठकमा पेश गर्नुहोला। सुरक्षाको विस्तृत खाका पनि आओस्।’
पोखरेलका अनुसार स्थानीय तह निर्वाचनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्री खाणले निर्देशन दिएका छन्। बैठकमा म्यादी प्रहरी भर्ना गर्नेदेखि क-कस्ता रणनीति बनाउनु पर्ने सबै योजना बनाउन निर्देशन भएको हो ।
करिब दुई घण्टा चलेको बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था केन्द्रित भएर छलफल भएको पोखरेलले बताए।
बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन गर्न आवश्यक सुरक्षा सामाग्री र सुरक्षा व्यवस्थाबारे जानकारी दिएका थिए।





