विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धन भनेको निर्वाचनपछि आवश्यकताका आधारमा हुने भएकाले निर्वाचन अघि गठबन्धन गर्न नहुने धारणा व्यक्त गरेका छन् ।आइतबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता कोइरालाले कांग्रेसका लागि स्थानीय र संघीय संसदका लागि गठबन्धन आवश्यक नभएको बताए ।
त्यस्तै उनले सरकारले स्थानीय तहको निर्वाचनका लागि गठबन्धनबाट निर्णय गरिरहनुपर्ने अवस्था नभएको तथा सोझै सरकारले निर्वाचन आयोगसँग सहमति गरेर मिति तोक्नुपर्नेमा अलमत गरेको धारणा राखे । नेता कोइरालाले लोकतन्त्रमा आवधिक निर्वाचनले महत्वपूर्ण सन्देश दिने भएकाले ऐन कानून संसोधन गर्नुपर्ने आवश्यकता समेत नभएको भन्दै नागरिक समाज, कानूनविद्, नेपाली कांग्रेस तथा अन्य दलका नेताहरुको दबाबपछि सरकार जेठमा निर्वाचन गर्ने निर्णय गर्न बाध्य भएको बताए ।
उनले निर्वाचन हारेका वरिष्ठ साथीहरु कार्यसम्पादन समितिमा छुटेकाले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेर समितिमा ल्याउन सभापतिलाई आग्रह गर्दै नेपाली कांग्रेसको कार्यसम्पादन समिति गठनमा एकलौटी गरिएको आरोप लगाए ।





