काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापा बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा कार्यरत उनलाई बागमती प्रदेश प्रहरी कार्यालयले पुस महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
प्रदेशका प्रमुख डीआईजी प्रकाशजंग कार्कीका अनुसार प्रदेशभरमा थापाको कार्यसम्पादन सबैभन्दा अब्बल भएपछि यो पुरस्कार दिइएको हो । प्रदेश प्रहरीले हरेक महिना राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरेको छ ।
थापाले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेकाले पुस महिनाको पुरस्कार दिइएको प्रदेश प्रहरीले उल्लेख गरेको छ ।
थापाले लागूऔषध बरामद, हत्यामा संलग्नलाई तत्काल पक्राउ, नदीजन्य पदार्थको उत्खननलाई नियन्त्रण तथा राजमार्गमा हुने विभिन्न किसिमको सवारी दुर्घटना, यातायात अवरुद्ध जस्ता समस्या घटाउन तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानयि निकायसँग आवश्यक समन्वय गरी प्रहरी चौकी सुनाचुरी मकवानपुरको नयाँ भवन निर्माण सुरु गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनलाई पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।





