एमालेलाई नसकेपछि प्रचण्ड अहिले कांग्रेसलाई बिगार्न पछि लागेका छन् : केपी ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होसियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले प्रचण्ड कांग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसियार रहन आग्रह गरेका हुन् ।

आज बुधवार काठमाण्डौमा पार्टी निकट युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले गठन गरेको साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उहाँले प्रचण्डले कांग्रेसलाई बिगार्न हात समातेको दाबीसमेत गरे। उनले आफूहरूलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड कांग्रेसको पछि लागेको समेत भन्न भ्याए ।

अध्यक्ष ओलीले भने ‘कांग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ ? बहुमतको कम्युनिस्ट पार्टी फुटाएर चोइटो लिएर कुद्ने त्यस्ताहरूको पछि लागेर देश बन्छ ? प्रचण्डले सधैँ समस्या खडा गर्न, हामीलाई बिगार्न खोजेका थिए । नबिग्रिने देखेपछि टाप । कहाँ बिग्रिन्छ एमाले ? अब कांग्रेसलाई समातेछन् । म कांग्रेसलाई चेतावनी दिन चाहन्छु– कांग्रेस होसियार । प्रचण्डले भ्याइ दिन्छन् । हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’अध्यक्ष ओलीले कांग्रेसको पुच्छर बनेका प्रचण्ड र माधव नेपालबाट देश बन्द भन्ने कल्पना नगर्नसमेत पटक–पटक बताए।

उनले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्र्याएर देशलाई डरलाग्दो अवस्था पुर्‍याउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा लाग्न पनि साइबर सर्कललाई आग्रह गरे । उनले देश, राष्ट्रियता, देशको समृद्धि र विकासका लागि वातावरण बनाउने काममा सञ्चार माध्यमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे । अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भइरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार