काठमाडौँ । नेकपा माओवादी केन्द्रको देशैभरका वडाहरुमा आज वडा सम्मेलन हुँदै छ । यसलाई अधिवेशनकै रुपमा अघि सारिएको र वडापछि पालिका, प्रदेश सम्मेलन हुँदै आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने पार्टीको तयारी छ । पार्टीकाे केन्द्रीय कार्यालय पेरिशडाँडाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्मेलनकाे उद्घाटन गर्ने बताइएकाे छ । बिहान ११ बजे उद्घाटन कार्यक्रम राखिएकाे छ ।
वडास्तरसम्मै पार्टीको सदस्यता नवीकरण सकिएपछि माओवादी केन्द्रले वडा अधिवेशनको प्रक्रिया सुरु गरेको हो । उसले वडा सम्मेलन मार्फत सर्वसम्मत नेतृत्व चयन गर्न यथाशक्य प्रयास गर्न समेत निर्देशन दिएको छ । तर सहमति नभएर निर्वाचनमा जानु परे पनि समूहगत निर्वाचनमा भने जान नपाइने पार्टीको निर्देशन छ ।
सदस्यता नवीकरण टुंगो लागेसँगै माओवादी केन्द्रको अब देशैभरि सदस्य संख्या ८ लाख पुगेको बताइएको छ । वडा अधिवेशनका लागि उसले देशभरका ६ हजार ७ सय ४३ वडामा पार्टीको निर्वाचन आयोग पनि बनाएको छ । वडा सम्मेलनपछि पार्टीले यही मंसिर ११ गते सबै पालिकास्तरमा सम्मेलन एवं अधिवेशन गर्नेछ । त्यसपछि मंसिर २५ गते ७ वटै प्रदेशमा समेत सम्मेलन हुने र नेतृत्व चयन गर्ने कार्यतालिका रहेको छ ।





