योगेश भट्टराई एमालेको प्रवक्ता



काठमाडौं । एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्तामा थिए ।

मंगलबार सम्पन्न स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका हैसियतमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिन खोजेका छन् ।

सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद् : ओली
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् । पार्टी विभाजनपछि पहिलोपटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाकाे भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।

एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।
‘एमाले विभाजन रोक्न आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको सचिवालयमा भदौ १ गते पठायौँ’, ओलीले भने, ‘तर, सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई रोकेर नौ दिनदेखि राखेका छन् ।’

संसदीय मर्यादा र आचारणविपरीत सभामुख सापकोटाले एमालेले निलम्बन गरेका १४ जना सांसदको सूची सार्वजनिक नगरेको ओलीको आरोप छ । एमालेले माधवकुमार नेपालसहित १४ जनामाथि कारबाही गरेको पत्र सचिवालयमा पठाएको थियो । सभामुख सापकाेटाले पक्षधरताको राजनीति गर्नु दुःखद् र खेदजनक रहेको ओलीको भनाइ छ ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार