नेकपा एमालेमा प्रवेश गरेका नेता पुर्व माओवादी समूहका नेताहरु एमाले स्थायी कमिटीबाट हट्ने भएका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरू सहमति अनुसार उनिहरु स्थायी कमिटीबाट हट्ने भएका हुन् । अध्यक्ष ओलीको निवासमा भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएसंगै राम बहादुर थापा बादल समुह स्थायी कमिटीबाट बाहिरिने भएको हो।
२०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति भन्नुको अर्थ बादल समूहबाहेकको बैठक भनेर बुझ्नु पर्ने बैठकमा सहभागी एक नेताले बताए । बादल समूह बारे एमालेको संयुक्त बैठक पश्चात निर्णय लिईने बताइन्छ । ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका प्रदिप ज्ञवालीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए ।
लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए ।अल्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।
यस्तो छ १० बुँदे सहमति
१.केही समययता पार्टीका आन्तरिक अन्तर्विरोधहरू पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एक–अर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तर्विरोधहरूलाई पार्टीभित्रै विधिसम्मत् ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौँ ।
२. पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व ०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।
३. ०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक कामकारबाहीहरू स्वतः बदर भएका छन् ।
४.०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेमा रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपामा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्य कमरेडहरूलाई उहाँहरू नेपाल कम्युनिस्ट पार्टी नेकपामा रहँदासरहको कमिटीमा संगठित गरिनेछ ।
५. पार्टीमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेडहरूलाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनीत गरिनेछ ।
६. प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत् एवं संस्थागत निर्णयअनुरूप हामी अगाडि बढ्नेछौँ ।
७. पार्टी तथा जनसंगठनहरू पूर्ववत् अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुन सक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाब दिन कार्यदल गठन गरिनेछ ।
८. यी निर्णयहरू आवश्यकताअनुसार अनुमोदनका लागि यथाशीघ्र विधान महधिवेशन आयोजना गरी प्रस्तुत गरिनेछ ।
९. पार्टी, संसदीय दल र जनसंगठनहरूलाई विधि र पद्धतिसम्मत् किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ । यसका लागि एकताबद्ध भई आ–आफ्नो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न समस्त पार्टीपंक्तिलाई आह्वान गरिएको छ ।
१०. कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिव कमरेडलाई अनुरोध गर्ने ।





