काठमाडौं । नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् । लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै सचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले खरानी बन्न सक्ने बताएका हुन ।
अध्यक्ष ओलीमा बिकसित भएको अहंकार, दम्भ र ब्यक्तिबादले पार्टी समाप्त हुन सक्ने खतरा उत्पन्न भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट गम्भीर शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई अपनाए पनि अध्यक्ष ओलीले यसको पालना नगर्दा पार्टी बिघटनको दिशातिर उन्मुख भएको उनको भनाई छ । ‘हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो ।’ सचिब गुरुङ भन्छन् ‘ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।’
अध्यक्ष ओलीको दम्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढल्न सुरु गरेको सचिब गुरुङको भनाई छ । ‘एमाले ०७३ साल र ०७४ सालका निर्बाचनमा तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम ग¥यो । त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अबसर पायौं पनि । संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’ उनी भन्छन् ‘आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रबृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’
साढे तीन बर्षमै यति ठूलो क्षति ब्यहोर्नुले एमालेको भबिश्य के होला भनेर चिन्ता गर्नु पर्ने बेला आउको उनको भनाई छ । ‘आफ्नो बहुमत नहुदा सत्तामा आउने जाने हुन्छ । तर अहिलेको अबस्था यस्तो होइन ।’ उनी भन्छन् ‘ओली कमरेड एक्लै हिड्ने दम्भ पाल्दाको परिणति हो, यो । अध्यक्ष ओलीको ब्यक्तिबादी दम्भकै कारण तीन सरकार गुमाई सकियो । यो यतिमै रोकिने देखिएको छैन ।’ एउटा ब्यक्तिको (ओली) कारण पार्टी र आन्दोलनले गम्भीर धक्का खान थालेकाले सबैले सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।
नेकपा माओवादी केन्द्रसँग भएको एकीकरण टुटेपछि एमालेको ओरालो यात्रा सुरु भएको यथार्थलाई सबैले मनन् र आत्मसात गर्नु पर्ने उनको तर्क छ । अझ एमाले पनि सिंगो अबस्थामा नरहने हो भने त कम्युनिष्ट आन्दोलन नै क्षतबिक्षत हुने सचिब गुरुङको भनाई छ । अहिले भएको अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पानी बारबारको अवस्थालाई द्वन्द्वबादीढंगले हेर्नु पर्ने उनी बताउँछन् । ‘आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन माधब नेपालले भूमिका खेले भनेर आक्रोस पोख्ने मात्र होइन, नेता नेपाललाई ओलीले किन त्यहाँसम्म पु¥याए भनेर सोच्ने हो भने बिबादको समाधान भेटिन्छ ।’ उनी भन्छन् ।
लुम्बिनी प्रदेशमा एमाले सरकार अल्पमतमा परेर ढलेपछिको बिकसित राजनीतिक घटनाक्रमका बारेमा आफूनिकट नेता तथा कार्यकर्ताहरुसँग कुरा गर्दै सचिब गुरुङले एमालेमा एकता नभए पार्टी नै ध्वस्त बन्ने बताए । ‘नेकपा एमालेलाई अहिलेको अबस्थामा ल्याउन हामीले ०४६ सालपछि तीन दशक कडा परिश्रम गरेका छौं । बिभाजित भएमा पार्टी समाप्त भएर जान्छ ।’ उनी भन्छन् । पार्टीमा माधब नेपालहरु बस्न नसक्ने बाताबरण सिर्जना गर्नु भनेको सिंगो पार्टी र आन्दोलनका लागि भयंकर ठूलो क्षति भएको उनको भनाई छ । ‘माधब नेपालमा ब्यक्तिजन्य कमजोरी होलान, तर एमाले बनाउन उनको योगदान ओलीभन्दा कम होइन, बरु बढ्ता नै छ ।’ उनी भन्छन् ‘यस्तो ब्यक्तिलाई कसैको स्वार्थ (ओली) नमिल्नेबित्तिकै पार्टी छाडेर जाउ भन्नु ईतिहासप्रतिको गद्धारी हो ।’
सचिब गुरुङले माधब नेपालले पनि ओलीलाई मात्र हेरेर पार्टीमा बस्ने/नबस्ने निर्णय लिनु सर्बथा गलत हुने उनको सुझाब छ । ‘सिंगो पार्टी, कम्युनिष्ट आन्दोलन, देश, जनता र कार्यकर्ताहरुको भाबनालाई बिचार गरेर उहाँले (माधब) निर्णय लिनुपर्छ ।’ गुरुङको सझाब छ ‘ब्यक्ति हेरेर आन्दोलनलाई कमजोर बनाउन उहाँलाई पनि ईतिहासले छुट दिदैन ।’
माधब नेपालको समूह पार्टीमा नरहने हो भने दुबै एमाले पनि नबच्ने र फुटेर जानेहरु पनि नबच्ने सचिब गुरुङको दाबी छ । ‘माधब नेपालहरु फुटेर जानुभयो भने उहाँहरुको भबिश्य त रहँदैन नि, एमाले पनि समाप्त हुन्छ ।’ उनी भन्छन् ‘हिजो दुई पार्टीबिचको एकता हुदा त काँगे्रसको लोकप्रिय मत हाराहारी जस्तै छ । अहिले त दुई पार्टी दुईतिर भएको र एमाले पनि बिभाजित भएको अबस्थामा एमाले बच्न नसक्ने उनको तर्क छ । अब एमाले ढल्यो भने ईतिहासमै उठ्न नसक्ने पनि गुरुङको बुझाई छ ।
‘दुई तिहाईको सत्ता सन्चालन गरेको एमाले, आफै झगडा गरेर क्षतबिक्षत भए भने न जनताले माफी गर्छन, न ईतिहासले । त्यसैले यो पार्टी कहिल्यै उठ्न नसक्ने गरी थला पर्छ । के त्यसको लागि हामी तयार हो त ?’ उनको प्रश्न छ ।





