मध्यरातमा दुबई उडान रद्द हुँदा विमानस्थलमा यात्रु अलपत्र



काठमाडौं । हिमालय एयरलाइन्सले दुबई उडानको अनुमति नपाउँदा गएराति यात्रुहरु त्रिभुवन विमानस्थमा अलपत्र परेका छन् । एयरलाइन्सले अन्तिम समयमा दुबई उडान नहुने सूचना टाँसेपछि मध्यराति विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका हुन् ।

नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि दुबईले नेपालबाट हुने उडान रोकेको थियो। तर गत साता युएईस्थित नेपाली दूतावासले २५ साउन (सोमबार) देखि नेपालका लागि उडान खुल्ला भएको सूचना जारी गरेपछि हिमालय एयरलाइन्स दुबई जाने तयारीमा थियो ।

सोही अनुसार टिकट काटेका यात्रुहरु सोमबार राति साढे ११ बजे हुने उडानका लागि विमानस्थलमा पुगेका थिए । दुबई उड्ने तयारीमा रहेका यात्रु एकाएक एयरलाइन्सले उडान नहुने सूचना टाँसेपछि अलपत्र परेका हुन् । एयरलाइन्सले जारी गरेको सूचनामा दुबईले रोकेका कारण यताबाट उडान हुन नसक्ने व्यहोरा उल्लेख गरिएको छ । थप कारण खुलाइएको छैन।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार