काठमाडाै | जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षका केही सांसदले कित्ता परिवर्तन गरेका छन् । अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ । यसअघि उपेन्द्र यादव कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा भएपनि संसदीय संसदीय दलमा ठाकुरको पक्षमा बहुमत देखिएको थियो ।
ओली सरकार ढल्नु अघिसम्म ३२ जना सांसदमध्ये महन्थ ठाकुरको पक्षमा २० जना सांसद थिए भने उपेन्द्र यादवको पक्षमा १२ जना मात्रै थिए । उनको पक्षमा अहिले १९ जना सांसद पुगेको दावी गरिएको छ ।
सो पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले महन्थ ठाकुरको पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल लगायतका सांसदहरु उपेन्द्र यादवको पक्षमा आएको बताएका छन् ।
अझै उनले केही सांसदहरु उपत्यका बाहिर रहेको कारण बैठकमा आउन नसकेको र चारजना सांसद अझै सम्पर्कमा रहेको दावी गरे । चारजना सांसद को को हुन् भन्नेबारे उनले बताउन चाहेनन् । यसअघि उपेन्द्र यादवको साथ छाडेर विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, राम दुलारी खत्वे महन्थ ठाकुरको पक्षमा लागेका थिए । महन्थ ठाकुरले बहुमत प्राप्त गरेका थिए ।
नेकपा एमालेका साथमा विपक्षमा बस्ने निर्णय गरेसँगै संसदमा कसरी प्रस्तुत हुने विषयमा आजै महन्थ ठाकुर समूहले एमाले ओलीसँग उनको निवासमा छलफल गरेका थिए । उपेन्द्र यादव पक्षको आज बसेको संसदीय दलको बैठकले भोलिदेखि सुरु हुने संसदको बैठकमा सत्तापक्षमा बस्ने निर्णय गरेको छ । यसअघि जसपा विपक्षीको बेन्चमा बस्दै आएको थियो । यद्यपी महन्थ ठाकुर पक्षका सांसदहरु विपक्षमा बस्ने निर्णय हिजै गरिएको थियो ।





