
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । आफुविरुद्ध दर्ता भएको अविश्वासको मतविरुद्ध बहुमत पुर्याउन नसक्ने भएपछि उनले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीता पौडेललाई उनले राजीनामा दिएका हुन् । अविश्वासको मतमा सोमबार मतदान हुँदैछ ।
मुख्यमन्त्रीले राजीनामा दिएसँगै सबै मन्त्रीहरु पदमुक्त भएका छन् । ११ दिन अघि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका दीपक मनाङे(राजीव गुरुङ) समेत पदमुक्त भएका छन् । मन्त्री नियुक्त भएकै दिन दुई हप्तामै यो सरकार ढल्न सक्ने उनले बताएका थिए । प्रदेश प्रमुख पौडेलले राजीनामा स्वीकृत गरेर तीन दिनभित्र नयाँ सरकार गठनका लागि समय दिएकी छिन् ।
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज (आइतबार) राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरका छन् । गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन प्रदेश प्रमुख पौडेलले बताएका छन् ।