
गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता जोगाउनकै लागि मनाङेलाई मन्त्री नियुक्त गरेपछि चौतर्फीरूपमा एमाले र गुरुङको विरोध भएको छ।
गुन्डागर्दीमा चर्चा कमाएका मनाङेको अपराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो। ठमेलका दुई गुन्डा चक्रे मिलन र मनाङेले फरकफरक स्थानविशेषमा गुन्डागर्दीमा राज गर्दै आएका थिए। चक्रे मिलन सुरुदेखि नै एमालेसँग निकट भएर गुन्डागर्दी गर्थे भने मनाङे कांग्रेस, राजावादी, संघीय समाजवादी हुँदै एमाले प्रवेश गरेका हुन्। ०५०/५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि मनाङेको दादागिरी सुरु भएको थियो। हप्ता असुली, धम्क्याउने र कवाडी संकलन उनको प्रमुख पेसा बन्यो।
काठमाडौंको कुनै पनि हिरासत कक्ष मनाङेका लागि नयाँ छैन। नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे। महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका हिरासतमा उनको रात बितेको थियो। ०६० साल पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा मनाङे पक्राउ परेका थिए। ठमेलमै हप्ता असुली र कवाडीको ठेक्का विवादमा चक्रे मिलनमाथि मनाङे समूहले आक्रमण गरेको थियो।
सो आक्रमणमा मनाङे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार, उमेश लामासमेत संलग्न रहेको भन्दै उनीहरूविरुद्ध मुद्धा दायर भएको थियो। २०६९ सालमा मनाङेबाहेक उनीहरूले सफाइ पाएका थिए। मनाङे ०६५ फागुन र ०७० फागुनमा पक्राउ परेका थिए। जेलबाट पनि गुन्डागर्दी गरेको, ठेकेदारहरूसँग पैसा असुल गरेको, क्रसर व्यवसायीलाई धम्क्याएर सेयर लिएको जस्ता अभियोगमा मनाङेलाई प्रहरीले दर्जनौं पटक पक्राउ गरेको थियो।
०७० सालमा सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारीले ६ महिना कैद सुनाएपछि अदालतमा मुद्दा चल्दा एक वर्ष थप कैद सजायको फैसला भएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते मनाङेसहित पाँच गुन्डाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाएको थियो। विभागले मनाङेसँग अवैध रूपमा कमाएको १४ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति रहेको दाबी गरेको भए पनि उनको सबै सम्पत्ति वैध बनाइदिएको थियो। त्यतिमात्र होइन, प्रदेश सांसद रहेकै बेला २०७६ माघमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेर मनाङे ६ हजार धरौटीमा रिहा भएका थिए।
उनको आपराधिक यात्रामा चक्रे मिलनबाहेक अरू कोही प्रतिस्पर्धी नदेखिएपछि उनीहरूले क्षेत्र बाँडेर गुन्डागर्दी गर्न थाले। होटल, रेस्टुरेन्ट, बारमा कहीं कतै भेट भयो भने ‘ग्याङ फाइट’ पर्ने गरेको थियो। ०६८ सालमा भूमिगतजस्तै भएका मनाङेलाई धेरैपटक प्रहरीले पक्राउ गर्दै मुद्दा चलाएको थियो। प्रदेश सांसद भएकै बेला उनीमाथि प्रहरीले रेड नोटिस पनि जारी गरेको थियो।
मनाङेविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले सफाइ पाए। करिब २५ वर्षदेखि राजधानीको गुन्डागर्दीमा संलग्न भए पनि उनको देशव्यापी नेटवर्क थियो। गुन्डागर्दीसँगै उनले ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालन गर्थे। अपराधकर्ममा रमाए पनि मनाङे पछिल्लो पटक आफूलाई समाजसेवीका रूपमा चिनाउने गर्थे। राजनीति गरे सबै प्रकारका अपराधबाट मुक्ति पाइन्छ भन्ने अभिप्रायले राजनीतिक दलमा छिरेका मनाङेले बिहीबार मन्त्री बनेपछि सांसद जित्ने भनेकै मन्त्री बन्न हो भन्ने अभिव्यक्ति दिएका छन्। नवराज सिलवाल, देवेन्द्र सुवेदी, सर्वेन्द्र खनाल, पुष्कर कार्की, रमेश खरेललगायत नेपाल प्रहरीका तत्कालीन दर्जन अधिकारीले मनाङेलाई पक्राउ गरेर मुद्दा चलाएका थिए। उनै मनाङेलाई समात्ने नवराज सिलवाल अहिले नेकपा (एमाले) का संघिय सांसद छन् ।
पूर्व डीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणालाई ६ हजार २ सय २२ मतले पछि पार्दै सिलवाल निर्वाचित भएका थिए । सिलवाल २६ हजार ९ सय ५१ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी राणाले २० हजार सात सय २९ मत प्राप्त गरे । पूर्व डीआईजी सिलवाल प्रहरी बढुवामा असन्तुष्ट भएको केही महिनामै माननीय बनेका थिए। नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा सिफारिसमा असन्तुष्ट भएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मर्यादाक्रममा पहिलो नम्बरमा रहे पनि आफूलाई आईजीपी नबनाएको भन्दै सर्वोच्च पुगेका सिलवाल आफूले न्याय नपाएको भन्दै राजनीतिमा प्रवेश गरेका थिए। इन्सपेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका सिलवाल संसदीय समितिमा खुबै सक्रिय छन् । निर्वाचन अघि उनलाई गृहमन्त्री बनाउछु भन्दै प्रधानमन्त्री केपी ओलीले भाषण नै गरेका थिए । उनै सिलवालले पटक पटक पक्राउ गर्ने गरेका दिपक मनाङे हाल आएर त्यहि एमालेको सरकारमा मन्त्री बने ।कान्तिपथबाट साभार ।